• २०८३ असोज ६ मंगलबार

बुधबारबाट कोशी, बागमती र गण्डकीमा बर्षाको गतिविधि बढ्दै जाने

बुधबारबाट कोशी, बागमती र गण्डकीमा बर्षाको गतिविधि बढ्दै जाने

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ । मध्य प्रदेशसहित कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भइ पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको विभागले जनाएको छ । यसको प्रभावले बुधबारबाट नै कोशी, बागमती र गण्डकी प्रदेशबाट बर्षाको गतिविधि बढ्दै जाने मौसम बुलेटिनमा उल्लेख छ ।

सो प्रभावले विशेषगरी पहाडी क्षेत्रमा पहिरो, बाढी र गेग्रान बहावको जोखिम बढ्नुका साथै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ ।

भारी वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ । महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै