• २०८३ असोज ६ मंगलबार

बेलायतले साउदी अरबलाई ‘रक्षात्मक’ सैन्य सहयोग दिने

बेलायतले साउदी अरबलाई ‘रक्षात्मक’ सैन्य सहयोग दिने

काठमाडौँ । बेलायतले यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको जवाफमा साउदीलाई ‘रक्षात्मक हवाई सहयोग’ उपलब्ध गराउने भएको छ ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले साउदी अरबको आग्रहपछि यस्तो सहयोग गर्न सहमति जनाइएको बताएका छन् ।

बेलायतले साइप्रसस्थित आरएएफ अक्रोटिरीबाट एउटा भ्वाएजर विमान परिचालन गर्ने तयारी गरेको छ । उक्त विमानले साउदी लडाकु विमानलाई हवाई इन्धन भर्ने काम गर्नेछ । यो सहयोग आगामी केही दिनभित्र सुरु हुने र सुरुमा केही साताका लागि मात्र सीमित रहने बताइएको छ ।

यमनका हुथी विद्रोहीले पछिल्ला दिनमा साउदी अरबको राजधानी रियादसहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन् । बेलायती अधिकारीका अनुसार प्रस्तावित रक्षात्मक सहयोगमा हुथीका क्षेप्यास्त्र र ड्रोन रोक्न साउदी वायुसेनालाई सहयोग पुग्ने गतिविधि समावेश हुन सक्छ ।

बेलायती प्रधानमन्त्री बर्नहमले साउदी अरबमाथि भइरहेको आक्रमण र सम्भावित थप अवरोधका कारण क्षेत्रीय तथा बेलायती हित सुरक्षित गर्न सहयोगको निर्णय गरिएको बताएका छन् । लाल सागर हुँदै हुने जल यातायात विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मार्ग मानिन्छ ।

बेलायतले यसअघि सन् २०२४ मा अमेरिकासँग मिलेर यमनमा हुथीका विभिन्न ठेगानामाथि हवाई आक्रमण गरेको थियो । हुथी विद्रोही र यमन सरकारबीच सन् २०१४ देखि जारी द्वन्द्वमा साउदी अरब यमन सरकारको पक्षमा रहँदै आएको छ भने हुथीलाई इरानको समर्थन रहेको बताइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै