काठमाडौं । खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई पदाधिकारी पक्राउ परेका छन् ।
अनुसन्धान ब्यूरोका अनुसार राष्ट्रिय खेलकुद परिषद्, प्रधान कार्यालय, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा नेपाल सरकार वादी र रविन्द्र जोशीसमेत प्रतिवादी रहेको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगीसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका एन्फाका कोषाध्यक्ष ललितपुर महानगरपालिका–३, पुल्चोक निवासी ६० वर्षीय रविन्द्र जोशी र एन्फाका लेखा अधिकृत ललितपुर महानगरपालिका–५, लगनखेल–थसीखेल निवासी ५५ वर्षीय सन्जीव पाण्डे रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई असोज ४ गते ललितपुर जिल्ला अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अनुसन्धान ब्यूरोले जनाएको छ ।









