काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कथित नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको टिप्प्णी गर्दै अहिले आन्दोलनको तयारी गरिरहेको बताएका हुन् ।
उनले संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सडक संर्घषले गर्ने बताए ।
प्रचण्डले देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताउदै भाद्र २४ गतेको विध्वंसले गर्दा कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उल्लेख गरे ।
प्रचण्डले पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्दै प्रमुख विकास तथा पूर्वाधारका कामहरू भएको दाबि गरेका थिए । अर्को प्रसंगमा आफुले भारत भ्रमणका क्रममा नेपालमा मुर्रा भैसी ल्याएको बताउदै त्यो काम चानचुने नभएको उल्लेख गरेका थिए । उनले नेपालबाट चीनमा भैसीको मासु निर्यातका लागि सहमति समेत गरेको प्रसंग बताएका थिए ।









