काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् ।
शुक्रबार २९औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा पत्रकारहरूसँग नेता सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै विधिसम्मत रूपमा १५औँ महाधिवेशन गराउनुपर्ने बताउदै विधान मिचेर गरिने महाधिवेशन मान्य नहुने बताए ।
उनले भने- 'कांग्रेस पार्टी विधिको शासन स्थापित गर्नका लागि जन्मिएको हो, तर पार्टीभित्रै विधिको शासनलाई तोडमोड गर्दा चुप लागेर बस्न सकिँदैन । विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशन गरी अघि बढ्न खोज्नु गलत हो। यस्ता अलोकतान्त्रिक अभ्यासले पार्टीभित्र अधिनायकवाद जन्माउँछ ।’
आफु पक्षका नेताहरु संस्थापन पक्षमा लागेको विषयमा नेता सिंहले कतिपय नेताहरू व्यक्तिगत सुविधा र पदका लागि पञ्चायत प्रवेश गरेको र बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूले सिद्धान्त र निष्ठाको राजनीति नछोडेका घटनाक्रम उल्लेख गरेका थिए ।
नेता सिंहले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्ने बताउदै राजनीतिक एजेन्डाको फैसला पार्टीले नै गर्नुपर्ने बताए ।









