• २०८३ असोज २ शुक्रबार

पहिलो दुई महिनामा ११.५८ प्रतिशत राजश्व संकलन, पुँजीगत खर्च १.७८ प्रतिशत मात्र

पहिलो दुई महिनामा ११.५८ प्रतिशत राजश्व संकलन, पुँजीगत खर्च १.७८ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले १ खर्ब ९० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ ३१ गतेसम्म सरकारले कुल १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व तथा अन्य प्राप्ति संकलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्तिको लक्ष्य राखेको छ । हालसम्म लक्ष्यको ११.५८ प्रतिशत रकम संकलन भएको छ ।

कुल प्राप्तिमध्ये कर राजस्वबाट १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ । यो कर राजस्वको वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो । गैरकर राजस्वबाट १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ भने अनुदानबाट ५ अर्ब ५३ करोड ७ लाख रुपैयाँ प्राप्त भएको छ । भदौ ३१ गते मात्रै सरकारले ५ अर्ब ८६ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यसमध्ये कर राजस्व ५ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा सरकारको कुल खर्च भने १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक बजेटको ९.४१ प्रतिशत हो । कुल खर्चमध्ये चालु खर्च १ खर्ब २२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

पुँजीगत खर्च भने निकै कम देखिएको छ । भदौ ३१ गतेसम्म सरकारले पुँजीगततर्फ ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र खर्च गरेको छ, जुन वार्षिक लक्ष्यको १.७८ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ ।

एकै दिन भदौ ३१ गते सरकारको खर्च ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ भएको छ । यसमध्ये चालु खर्च ७ अर्ब ३७ करोड ९१ लाख र पुँजीगत खर्च ३९ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

यस तथ्यांकले चालु आर्थिक वर्षको सुरुआती अवधिमै सरकारको खर्च आम्दानीभन्दा बढी रहेको देखाएको छ । भदौ ३१ गतेसम्म कुल प्राप्तिभन्दा खर्च करिब ९ अर्ब ७३ करोड रुपैयाँ बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक रहेको र हिसाब मिलानपछि रकम परिवर्तन हुन सक्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै