• २०८३ असोज २ शुक्रबार

एशियाली खेलकुदमा कुन कुन खेलमा हुदैछ नेपालको सहभागिता ?

एशियाली खेलकुदमा कुन कुन खेलमा हुदैछ नेपालको सहभागिता ?

काठमाडौं । जापानको आइची–नागोयामा शनिबारदेखि सुरु हुने २०औँ संस्करणको एशियाली खेलकुदमा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ । अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

नेपालबाट कुल २११ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, ६ सदस्यीय चिकित्सकीय टोली, चार पत्रकार तथा विशिष्ट अतिथिसहित मुख्य प्रतिनिधि, उपमुख्य प्रतिनिधि र अन्य अधिकारी रहेका छन् ।

नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एशियाली खेलकुददेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक टिम खेलसहित विभिन्न व्यक्तिगत खेलमा प्रतिस्पर्धा गर्दैछ ।

टिम खेलतर्फ पुरुष तथा महिला कबड्डी, पुरुष क्रिकेट र महिला भलिबलमा नेपालको सहभागिता रहनेछ। कबड्डीमा पुरुष र महिला गरी २४ खेलाडी सहभागी हुनेछन्। पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी छन् ।

व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी खेलाडी सहभागी हुनेछन् । त्यसबाहेक नेपालले धनुर्विद्या, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, गल्फ, जुडो, कराते, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, टेनिस र कुस्तीमा पुरुष तथा महिला दुवैतर्फ प्रतिस्पर्धा गराउनेछ ।

डुंगा दौड, स्केटबोर्ड र तेक्वान्दोमा भने नेपालका पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन्। नृत्य खेलमा नेपालबाट एक खेलाडी सहभागी हुनेछन् ।

नेपालले एशियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो । त्यसयता नेपाल पदकविहीन भएर फर्किएको छैन । अहिलेसम्म नेपालले एशियाली खेलकुदमा तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ । तर नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन ।

यसअघि सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । उक्त प्रतियोगितामा नेपालले करातेकी एरिका गुरुङको ऐतिहासिक रजत पदक र महिला कबड्डी टोलीको कांस्य पदक गरी दुई पदक जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै