बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथिबाट ढुंगा खस्दा कारमा सवार दुई जना घाइते भएका छन् ।
मंगलबार साँझ करिब ६: ३५ बजे पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको कारमाथि अचानक ढुंगा खसेर लाग्दा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
कारमा चालकसहित तीन जना सवार थिए । घटनामा दुई जना घाइते भएका छन् भने चालक सकुशल रहेका छन् । घाइते दुवै जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये बुटवल उपमहानगरपालिका–७ दिपनगरकी ३७ वर्षीया जुलन र बुटवलको जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकालको अवस्था मध्यम रहेको छ ।
कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध सकुशल छन् ।
सिद्धबाबा क्षेत्रमा सडक माथिबाट ढुंगा खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।









