काठमाडौँ । ओपनएआईका प्रमुख साम अल्टम्यानले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासका कारण मानिसहरू यसबाट डराउनु स्वाभाविक भएको बताएका छन् । तर, कृत्रिम बुद्धिमत्ता विकास गर्ने कम्पनीहरूले सुरक्षित र जिम्मेवार ढंगले काम गर्नेमा विश्वस्त हुनुपर्ने उनको भनाइ छ ।
सानफ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा बोल्दै अल्टम्यानले कृत्रिम बुद्धिमत्ताका क्षमता तीव्र रूपमा बढेकाले यसबाट हुन सक्ने जोखिमबारे चिन्ता गर्नु उचित रहेको बताएका थिए । उनले आफू र आफ्नो कम्पनीले सही काम गर्नेमा विश्वस्त हुन आग्रह गरेका थिए ।
अल्टम्यानको भनाइ कृत्रिम बुद्धिमत्ताले आगामी दशकको अन्त्यसम्म मानव जातिलाई नै जोखिममा पार्न सक्ने चेतावनी सार्वजनिक भएपछि आएको हो । एन्थ्रोपिकका एक पूर्वअनुसन्धानकर्ताले यस्तो दाबी गरेपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा र नियमनबारे बहस चर्किएको छ ।
एन्थ्रोपिकका प्रमुख कार्यकारी दारियो अमोडेईले समेत कृत्रिम बुद्धिमत्ताको विकासको गति केही सुस्त बनाउनुपर्ने र सरकारले यस क्षेत्रमा नियमन गर्नुपर्ने बताएका छन् । अल्टम्यानले भने कृत्रिम बुद्धिमत्ता कम्पनीहरू आफैँले सुरक्षित विकासका लागि आवश्यक नियम र मापदण्ड बनाउन सक्ने बताएका छन् ।
अल्टम्यानले कृत्रिम बुद्धिमत्ताको सुरक्षा क्षमता विकासभन्दा अगाडि राखिने र त्यसो गर्न नसक्ने अवस्था आए विकासको गति घटाउने वा रोक्ने बताएका थिए ।
एनभिडियाका प्रमुख जेन्सेन ह्वाङले पनि कृत्रिम बुद्धिमत्ताका नयाँ प्रविधि सार्वजनिक गर्ने वा नगर्ने निर्णय सम्बन्धित कम्पनीले नै गर्नुपर्ने बताएका छन् । उनका अनुसार सुरक्षा महत्वपूर्ण भए पनि त्यसलाई प्राविधिक रूपमा समाधान गर्न सकिन्छ। कुनै कम्पनीलाई आफ्नै उत्पादन सुरक्षित नभएको महसुस भए त्यसलाई सार्वजनिक नगर्नुपर्ने उनको भनाइ छ ।
तर, कृत्रिम बुद्धिमत्ता कम्पनीलाई आफैँले मात्र नियमन गर्न दिने विचारप्रति केही विज्ञले असहमति जनाएका छन्। एन्थ्रोपिकका सहसंस्थापक ज्याक क्लार्कले पूर्ण रूपमा नियमनविहीन क्षेत्रका रूपमा कृत्रिम बुद्धिमत्तालाई छाड्नु अत्यधिक जोखिमपूर्ण हुने बताएका छन् ।
यसैबीच, ओपनएआई, एन्थ्रोपिक र गुगलको डीपमाइन्डसहितका कम्पनीहरूबीच कृत्रिम बुद्धिमत्ताको सुरक्षा मापदण्ड निर्माणका लागि सहकार्यबारे छलफल भइरहेको जनाइएको छ । एन्थ्रोपिक प्रमुख अमोडेईले उद्योगका अन्य कम्पनीसँग सुरक्षित विकासका लागि साझा मापदण्ड र परीक्षण प्रणालीबारे संवाद भइरहेको बताएका छन् ।









