• २०८३ भदौ ३० मंगलबार

विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बमले तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा बमले विद्यालय व्यवस्थापन समितिको सदस्य तथा पदीय हैसियतको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेर आफ्नो निम्ति दुई लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बमको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर हो । आयोगले दुई लाख रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ ।

आयोगले बमविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै