काठमाडौँ । काजकिस्तानकी एलेना रिबाकिनाले आरिना साबालेन्कालाई ६-४, ५-७, ६-२ ले हराउँदै पहिलोपटक अमेरिकी ओपन टेनिसको महिला एकल उपाधि जितेकी छन् ।
रिबाकिना यसअघि नै नयाँ विश्व नम्बर एक बन्ने निश्चित भइसकेकी थिइन् । साबालेन्कालाई पराजित गर्दै उनले आफ्नो तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनले सन् २०२२ मा विम्बल्डन र यसै वर्ष अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
दुईपटककी साविक विजेता साबालेन्का लगातार तेस्रोपटक अमेरिकी ओपन उपाधि जितेर शीर्ष वरीयता गुमाएको पीडा कम गर्न चाहन्थिन् । तर निर्णायक सेटमा रिबाकिनाको संयम र उत्कृष्ट प्रत्याक्रमणका अगाडि उनी कमजोर देखिइन् ।









