• २०८३ भदौ २५ बिहीबार

एआईले सबै मानिसको अस्तित्व समाप्त पार्न सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी छ- अनुसन्धानकर्ता

एआईले सबै मानिसको अस्तित्व समाप्त पार्न सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी छ- अनुसन्धानकर्ता

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई)  तीव्र गतिमा विकास भइरहेकाले आगामी एक दशकभित्र यसले सबै मानिसको अस्तित्व समाप्त पार्न सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको एक प्रमुख सुरक्षा अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकका सुरक्षा अनुसन्धानकर्ता इभान ह्युबिङ्गरले हाल अस्तित्वमा रहेका कृत्रिम बुद्धिमत्ता प्रणालीबाट जोखिम कम भए पनि प्रविधिले चाँडै आफैँलाई विकास र सुधार गर्न सक्ने अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले त्यस्तो अवस्था मानव अस्तित्वकै लागि गम्भीर जोखिम बन्न सक्ने बताएका छन् ।

ह्युबिङ्गरले कृत्रिम बुद्धिमत्ताले भविष्यमा कसरी मानिसको अस्तित्व समाप्त पार्न सक्छ भन्नेबारे भने स्पष्ट विवरण दिएका छैनन् । तर उनको भनाइ कृत्रिम बुद्धिमत्ताको जोखिमबारे पछिल्लो समय आएका गम्भीर चेतावनीमध्ये एक हो ।

उनले मानवको मूल्य र नैतिक सिद्धान्तअनुसार कृत्रिम बुद्धिमत्तालाई नियन्त्रणमा राख्ने प्रयास गरिए पनि अत्यन्त शक्तिशाली कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक सुरक्षा व्यवस्था विकास भइनसकेको बताएका छन् । उनका अनुसार मानवले भविष्यमा कृत्रिम बुद्धिमत्तामाथि नियन्त्रण कायम राख्ने सुनिश्चित योजना अझै बनाउन सकेका छैनन् ।

यसबीच पछिल्ला महिनामा स्वचालित रूपमा काम गर्ने कृत्रिम बुद्धिमत्ता प्रणालीबाट साइबर आक्रमणका घटना सार्वजनिक भएका छन् । एन्थ्रोपिकको अगस्टमा प्रकाशित सुरक्षा प्रतिवेदनले पनि अत्यन्त सक्षम कृत्रिम बुद्धिमत्ताले स्वचालित रूपमा अनुसन्धान तथा विकास गर्न सक्ने र त्यसबाट विनाशकारी क्षति हुन सक्ने जोखिम रहेको उल्लेख गरेको थियो ।

संयुक्त राष्ट्रसंघलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी विषयमा सल्लाह दिने कम्प्युटर वैज्ञानिक डेम वेंडी हलले ह्युबिङ्गरको चेतावनीप्रति आफू स्तब्ध भएको बताएकी छन् । यसअघि पनि कृत्रिम बुद्धिमत्ताको विकासमा अत्यधिक सावधानी अपनाउनुपर्ने आवाज उठ्दै आएको छ । पछिल्लो समय केही प्रमुख अनुसन्धानकर्ता तथा कम्पनीका अधिकारीहरूले मानव नियन्त्रण सुनिश्चित गर्न कृत्रिम बुद्धिमत्ताको विकासलाई केही हदसम्म सुस्त बनाउनुपर्ने मागसमेत गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै