• २०८३ भदौ २४ बुधबार

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पाँच सांसद हटाउन राप्रपाको पत्र

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पाँच सांसद हटाउन राप्रपाको पत्र

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले सभामुख अप्सरा चापागाईंलाई पठाएको पत्रमा भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनश्वरी प्रजापति र आशा लामालाई प्रदेशसभा सदस्यबाट हटाउन माग गरिएको छ ।

मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिँदा राप्रपाका सात सांसदले पक्षमा मतदान गरेका थिए भने ती पाँच सांसद बैठकमै अनुपस्थित भएका थिए ।

संसदीय दलले सरकारको पक्षमा मतदान गर्न ह्विप जारी गरेको भए पनि पाँच सांसदले पार्टीको निर्देशन उल्लंघन गरेको र उनीहरूलाई स्पष्टीकरण सोध्दा ७२ घण्टाभित्र कुनै जवाफ नदिएको पत्रमा उल्लेख छ ।

बागमती प्रदेश सरकारमा सहभागी हुने विषयलाई लिएर राप्रपाभित्र विवाद रहँदै आएको छ । यसअघि पनि पार्टीको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै तत्कालीन संसदीय दलका नेता उद्धव थापामाथि र त्यसपछि मन्त्री बनेका तीन जनालाई पार्टीले कारबाही गरेको थियो । पाँच सांसदलाई पदमुक्त गर्न पठाइएको पत्रसँगै बागमती राप्रपाभित्रको आन्तरिक विवाद थप चर्किएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै