काठमाडौँ । अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा भएको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताएका छन् ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।
उनका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको छ। साँघुरा गल्छी, भत्किएका सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भूगोलका कारण उद्धार निकै कठिन बनेको उनले बताए । भारी उपकरण घटनास्थलसम्म पुर्याउन नसकिएकाले सडक निर्माण तथा वैकल्पिक पहुँचको व्यवस्था भइरहेको उनको भनाइ थियो ।
सतहमा ठूलो क्षति देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित व्यक्ति नरहेको निष्कर्षमा पुग्न नहुने डिक्सले बताएका छन् । जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन् ।
डिक्सले हालको घटनाका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित नहुने बताएका छन् । उनका अनुसार यस्तो प्रकृतिको विपत्ति यसअघि विश्वमै नदेखिएकाले विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्याङ्कनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा मात्र गलत भन्न मिल्दैन ।
उनले उद्धारमा नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले कठिन परिस्थितिका बाबजुद गरिरहेको प्रयासको प्रशंसा गर्दै पीडित नेपालीहरूलाई आफूहरू एक्लो नरहेको सन्देश दिएका छन् । भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति घटाउन आयोजनाको डिजाइन चरणदेखि नै उद्धार तथा सुरक्षा प्रणालीलाई समेट्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।









