• २०८३ भदौ २२ सोमबार

घुस लिएका नापीका दुई कर्मचारीविरुद्ध मुद्धा दायर

घुस लिएका नापीका दुई कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाडौँ । नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध ५० हजार रुपैयाँ घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी कित्ता मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनीहरूले ५० हजार रुपैयाँ घुस मागेका थिए ।

उजुरीका आधारमा गरिएको अनुसन्धानबाट तत्कालीन सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेले भूमि प्रशासन कार्यालय कलंकीमा दर्ता रहेको साविक मच्छेगाउँ–९ग, हाल चन्द्रागिरि–९ग मा रहेको जग्गा हालसाबिक गरी कित्ता मिलानका लागि सहजीकरण गरिदिने भन्दै रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख तथा हैरानी दिँदै उनीहरूले ५० हजार रुपैयाँ घुस मागेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ। आफूले रकम प्रत्यक्ष रूपमा नलिई कार्यालय सहयोगीमार्फत लिन सहमत भएकोसमेत अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। सोही आधारमा ५० हजार रुपैयाँ बिगो कायम गरी श्रेष्ठ र पार्धेविरुद्ध कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै