काठमाडौँ । चीनले नेपाल-चीन सीमा क्षेत्रको केरुङ-रसुवा नाका नजिकै ठूलो पहिरो गएपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी नियमित उपलब्ध गराउँदै आएको जनाएको छ ।
चीनको मौसम प्रशासनका प्रवक्ताले विपद्पछि तत्कालै नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरिएको जानकारी दिएका छन् । नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन चीनले मौसमसम्बन्धी आवश्यक सूचना र प्राविधिक सहयोग सक्रिय रूपमा उपलब्ध गराइरहेको जनाएको छ ।
चीनको जलस्रोत मन्त्रालयले पनि नेपालसँग आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने जनाउदै यसअन्तर्गत नदीमा बनेका अवरोध तथा हिमताल फुट्न सक्ने जोखिमसम्बन्धी सूचनासमेत नेपाललाई उपलब्ध गराइने बताएको छ ।
यसबाट बाढी, पहिरो तथा अन्य जलजन्य विपद्को जोखिमबारे समयमै जानकारी प्राप्त गरी नेपालमा जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









