काठमाडौँ । कपिलवस्तुबाट राहत सामग्री बोकेर भोटेकोशी बाढी प्रभावित धादिङ र नुवाकोटतर्फ निस्किँदा ग्यालेक्सी युथ क्लबका अध्यक्ष अमृत गिरीको मनमा एउटा मात्रै कुरा थियो, बाढीले घरबारविहीन बनेका परिवारसम्म सकेको सहयोग पुर्याउने । तर त्यो यात्रा उनको सोचेजस्तो सामान्य राहत वितरण अभियानमा सीमित रहेन । बाटोमा देखिएको विनाश, पीडितका अनुहार, बालबालिकाका आवाज र आफ्नै परिवार गुमाएर पनि अरूको सेवामा खटिएका मानिसका कथा उनले नजिकबाट देखेको अनुभव उनले सुनाए ।
कपिलवस्तुमा स्थानीय व्यापारी तथा सहयोगी मनहरूबाट संकलन गरिएको करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री बोकेर क्लबको टोली धादिङ र नुवाकोट पुगेको थियो । चामल, ओछ्यानसहित दैनिक उपभोगका अत्यावश्यक सामग्री लिएर गएको टोलीले विदुर, टुप्चे, भैरुम माध्यमिक विद्यालयमा रहेको आश्रयस्थल तथा आसपासका प्रभावित परिवारसम्म राहत पुर्याएको थियो ।
तर गिरीका लागि त्यो यात्रा राहत वितरणको हिसाबकिताबभन्दा धेरै ठूलो बन्यो । कपिलवस्तुबाट निस्किँदा उनीसँग राहत सामग्री थियो । फर्किँदा भने उनीसँग पीडितका आवाज, आँसु, दुःख र केही अधुरा वाचाहरू थिए । टुप्चे पुग्नेबित्तिकै गिरीले विपद्को वास्तविकता महसुस गरेको बताउछन् । बाढीले घर बगाएका मानिसहरू अस्थायी आश्रयमा बसेका थिए । कसैको घर थिएन, कसैको परिवार थिएन, कसैलाई आफ्ना हराएका आफन्त फर्केर आउँछन् कि आउँदैनन् भन्ने समेत थाहा थिएन ।
एक जनाले पिडितले गिरीलाई आफ्नो घरको कथा सुनाउँदै भने, ‘मेरो तीनतले घर नै बगायो ।’ त्यो वाक्य गिरीको मनमा गहिरोसँग बस्यो । राहतको सामग्री लिन आएका साना नानीबाबुहरू पनि उनलाई घेर्न थाले । उनीहरूलाई के चाहिएको छ भनेर सोध्दा उनीहरूले आफ्नै भाषामा बाढीको पीडा सुनाउन थाले । एक बालकले भनेको कुरा गिरी अझै बिर्सन सकेका छैनन् । ‘मेरो बुबालाई पनि पानीले बगायो, प्रहरीले खोजिदिन्छु भनेको छ ।’ अर्को बालकको आवाजले त उनको मन नै चसक्क बनायो ।‘बाबा-मम्मीलाई बगाएर लग्यो, दाइ खोजिदिनु न ।’
यी शब्द सुन्दा गिरीको आँखामा आँसु भरिएको थियो । तर आफू सहयोग गर्न आएको मान्छे भएकाले पीडित बालबालिकाकै अगाडि आँसु देखाउन उनले आफूलाई सम्हाले । ‘मनभित्र आँसु आयो, तर उनीहरूकै अगाडि देखाउन सकिनँ,’ गिरी सम्झन्छन् । उनका लागि त्यो क्षण राहत बाँड्ने क्षणभन्दा बढी थियो । त्यो एउटा बालकले आफ्नो सबैभन्दा ठूलो दुःख अपरिचित मानिससँग बाँडेको क्षण थियो ।
राहत लिएर गएको यात्रा पनि सहज थिएन । लगातार पानी परिरहेको थियो । कतै बाटो भासिएको थियो, कतै पहिरो खसिरहेको थियो । टोलीले बोकेको राहत सामग्री सुरक्षित रूपमा प्रभावितसम्म पुर्याउनु नै चुनौती बनिरहेको थियो । तर उनीहरू रोकिएनन् । जति अगाडि बढ्दै गए, त्यति नै बाढीको क्षतिको तस्वीर गहिरिँदै गयो ।
विदुर–७ को चुच्चे पुग्दा गिरीको टोलीले दृष्टिविहीनका लागि सञ्चालन गरिएको आश्रयस्थलमा समेत बाढी प्रभावित मानिसहरू रहेको थाहा पायो । त्यहाँ पनि घरबारविहीन र प्रभावित व्यक्तिहरू थिए । टोलीले उनीहरूलाई आवश्यक सामग्री सहयोग गर्यो । त्यसपछि पानी झन् ठूलो पर्न थाल्यो । खोलानजिकका गाउँबाट फर्किनुपर्ने बेला बाटोको अवस्था झन् जोखिमपूर्ण बन्दै गयो । अगाडि जाने कि फर्किने भन्ने अवस्था थियो । तर फर्किँदै गर्दा टोलीले एउटा अर्को आवश्यकता देख्यो, आश्रयस्थलमा रहेका मानिससँग खानेकुरा मात्र होइन, लगाउने कपडा र चप्पलको पनि अभाव थियो । गिरीको टोलीसँग केही कपडा र चप्पल बाँकी नै थियो । त्यो सामग्री बोकेर कपिलवस्तु फर्कनुको सट्टा उनीहरूले त्यहीँ छोड्ने निर्णय गरे । ‘हामीसँग बाँकी रहेका कपडा, चप्पललगायत सबै सामग्री त्यहीँ छोडेर फर्कियौँ,’ गिरीले भने ।
आश्रयस्थलमा गिरीले भेटेको अर्को व्यक्तिको कथा अझ पीडादायी थियो । त्यहाँको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका एक व्यक्तिसँग कुरा गर्दा उनले आफ्नै श्रीमती र छोरीलाई समेत बाढीले बगाएर लगेको सुनाए । आफ्नै घर उजाडिएको थियो । आफ्नै परिवारका सदस्य बेपत्ता थिए। तर उनी आफ्नो पीडामा थन्किएर बसेका थिएनन् । तर उनीहरु आफ्नो पिडा विर्सेर बाढीपीडितको सेवा गरिरहेका थिए ।
आफ्नो श्रीमती र छोरी गुमाएको पीडा बोकेर अरूका परिवारलाई खाना, बस्ने ठाउँ र आवश्यक सहयोग जुटाइरहेका ती व्यक्तिलाई देख्दा गिरी केहीबेर बोल्नै सकेनन् । ‘आफ्नै परिवारको यस्तो पीडा बोकेर पनि उहाँ अरू पीडितको सेवामा खटिरहनुभएको रहेछ । उहाँको साहस र मानवता शब्दमा बयान गर्न सकिँदैन,’ गिरीले भने ।
आश्रयस्थलमा गिरीले अर्को समस्या पनि देखे । राहत सामग्री आएको थियो । कतिपय सामग्री पर्याप्तजस्तो देखिन्थ्यो । तर जसको घर नै बगेको थियो, जसले सबै कुरा गुमाएको थियो र जसलाई सबैभन्दा बढी आवश्यकता थियो, त्यस्ता धेरै मानिससम्म राहत प्रभावकारी रूपमा पुग्न नसकेको अवस्था उनले देखे । राहत भएर पनि आवश्यक मानिससम्म नपुग्नु आफैँमा अर्को समस्या भएको उनको बुझाइ छ । त्यसैले टोलीले आफूले सकेको सहयोग त्यहाँ पनि गर्यो । विशेषगरी बालबालिका र अन्य प्रभावितका लागि कपडा आवश्यक देखिएपछि बाँकी कपडासमेत वितरण गरियो । गिरीका लागि यसले राहत वितरणको अर्को पक्ष देखायो, सामग्री संकलन गर्नु जति महत्वपूर्ण छ, सही मानिससम्म सही समयमा पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
धादिङ पुग्दाको अनुभव पनि गिरीले विशेष रूपमा सम्झिएका छन् । ठूलो गाडी भएकाले प्रभावित क्षेत्रका कतिपय स्थानमा पुग्न कठिन भइरहेको थियो । त्यही क्रममा सांसद बोध नारायण श्रेष्ठले दीपक अधिकारीसँग भेट गराइदिए । त्यसपछि अधिकारीले राहत टोलीलाई प्रभावित ठाउँसम्म पुर्याउन निरन्तर सहयोग गरे । बाटो कस्तो छ, पानी कति छ, कुन ठाउँमा गाडी जान सक्छ, यी सबै कुरा हेर्दै उनले आवश्यकताअनुसार कहिले मोटरसाइकल त कहिले गाडीको व्यवस्था गरिदिए । आफैँ पानीमा रुझ्दै प्रभावित क्षेत्रसम्म पुगेर सहयोग गरेका अधिकारीलाई गिरीले ‘भगवान् बनेर आएको’ व्यक्तिका रूपमा सम्झिएका छन् । ‘उहाँ आफैँ पानीमा रुझ्दै, मोटरसाइकल होस् वा गाडी, जहाँ आवश्यक पर्छ, जसरी आवश्यक पर्छ, साधन खोजेर हामीलाई प्रभावित ठाउँसम्म पुर्याउन निरन्तर सहयोग गर्नुभयो,’ गिरीले भने ।
नुवाकोटका प्रभावित क्षेत्रमा पुग्दा गिरीले स्थानीय जनप्रतिनिधिहरूलाई पनि निरन्तर मैदानमै खटिएको देखे । वडा अध्यक्षहरू आफैँ प्रभावितसँगै थिए । पीडितको अवस्था देख्दा उनीहरू पनि भावुक हुन्थे । कतिपयले गिरीको टोलीसँग कुरा गर्दागर्दै आँसु झारे । गिरीका अनुसार जनप्रतिनिधिहरू आफ्नै क्षेत्रका नागरिकको दुःखमा साथ दिन निरन्तर खटिरहेका थिए । तर उनले जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रभावित क्षेत्रमा नपुगेको भन्ने जानकारी पाएपछि भने आफूलाई दुःख लागेको बताए । गिरीका लागि विपद्को समयमा प्रशासनको प्रत्यक्ष उपस्थिति झन् महत्वपूर्ण हुन्छ । पीडितको अवस्था कागजमा बुझ्नु र उनीहरूकै बीचमा पुगेर महसुस गर्नु फरक कुरा भएको उनको धारणा छ ।
राहत वितरण गर्दै जाँदा गिरीले एउटा कुरा महसुस गरे, पीडितलाई चाहिएको कुरा चामल, ओछ्यान, कपडा वा चप्पल मात्रै रहेनछ । उनीहरूलाई आफ्नो दुःख सुनिदिने मानिस चाहिएको थियो । आफ्नो कुरा कसैले सुनोस्, आफू एक्लो छैनौँ भन्ने महसुस होस्, विपद्का बेला बाहिरबाट पनि कोही साथ दिन आएको छ भन्ने भरोसा होस्, सायद त्यो राहत सामग्रीभन्दा ठूलो कुरा थियो । त्यसैले जहाँ जहाँ पुगे, गिरी र उनको टोलीलाई स्थानीयले आफ्नै मान्छेजस्तो व्यवहार गरे । कपिलवस्तुबाट आएको टोलीलाई उनीहरूले टाढाको मान्छे ठानेनन् । उनीहरूका लागि त्यो टोली दुःखको समयमा आइपुगेको आफ्नै परिवारजस्तै बन्यो । यही मायाका कारण गिरीले प्रभावित परिवारसँग एउटा वाचा गरेका छन् ।
ग्यालेक्सी युथ क्लबले करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । तर गिरीका लागि यस अभियानको मूल्य रुपैयाँमा मापन हुने विषय होइन । उनले त्यहाँ घर गुमाएका मानिस देखे । आफन्त गुमाएका बालबालिका भेटे । आफ्नै परिवार गुमाएर पनि अरूको सेवामा खटिएका मानिस भेटे। पानीमा रुझ्दै अपरिचितलाई बाटो देखाउने स्वयंसेवी भेटे । आँसु झार्दै जिम्मेवारी पूरा गरिरहेका जनप्रतिनिधि देखे । र सबैभन्दा महत्वपूर्ण, मानवीयता अझै बाँचेको देखे । ‘हामी सहयोग गर्न आएका थियौँ । तर यहाँ आएपछि महसुस भयो, राहत भनेको सामान मात्र होइन रहेछ । दुःखमा साथ दिने भरोसा पनि रहेछ,’ गिरी भन्छन् ।
कपिलवस्तुबाट उनीहरू राहत लिएर धादिङ र नुवाकोट पुगेका थिए । फर्किंदा भने उनीहरू त्यहाँका मानिसको माया, विश्वास र आशीर्वाद लिएर फर्किए । गिरीका लागि यो यात्रा सकिएको छैन । किनकि उनले बाटोमा भेटेका ती बालबालिकाका आवाज अझै उनको कानमा गुञ्जिरहेका छन्- ‘दाइ, खोजिदिनु न।’ र सायद यही आवाजले उनलाई फेरि कुनै दिन त्यही बाटोतर्फ डोर्याउनेछ ।
(ग्यालेक्सी युथ क्लब, कपिलवस्तुका अध्यक्ष अमृत गिरीसँगको कुराकानीमा आधारित)









