• २०८३ भदौ १६ मंगलबार

एप्पलको नयाँ प्रमुख कार्यकारीमा जोन टर्नस, टिम कुक बने कार्यकारी अध्यक्ष

एप्पलको नयाँ प्रमुख कार्यकारीमा जोन टर्नस, टिम कुक बने कार्यकारी अध्यक्ष

काठमाडौँ । सेप्टेम्बर १, २०२६ देखि जोन टर्नस एप्पलको नयाँ प्रमुख कार्यकारी बनेका छन् । यसअघि उनी एप्पलमा वरिष्ठ हार्डवेयर कार्यकारीका रूपमा कार्यरत थिए । करिब १५ वर्ष एप्पलको नेतृत्व गरेका टिम कुक अब कम्पनीको सञ्चालक समितिको कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् ।

कुकले सन् २०११ मा स्टिभ जब्सपछि एप्पलको नेतृत्व सम्हालेका थिए । उनको कार्यकालमा एप्पलको बजार मूल्यमा ठूलो वृद्धि भएको छ । कुक प्रमुख कार्यकारी बन्दा कम्पनीको बजार मूल्य करिब ३५० अर्ब अमेरिकी डलर रहेकोमा यस वर्ष करिब ४० खर्ब डलर पुगेको छ । कम्पनीको वार्षिक आम्दानी पनि १०८ अर्ब डलरबाट बढेर सन् २०२५ मा ४१६ अर्ब डलरभन्दा बढी पुगेको थियो ।

कुकको नेतृत्वमा एप्पलले आइफोनबाहेक एप्पल घडी, एयरपड्स, भिजन प्रो, एयरट्याग र एप्पल म्युजिकजस्ता उत्पादन तथा सेवा सार्वजनिक गरेको थियो । वातावरणीय क्षेत्रमा पनि कम्पनीले काम गरेको र आफ्नो कार्बन उत्सर्जन करिब ६० प्रतिशत घटाएको एप्पलले जनाएको छ ।

कुकले अगस्ट ३१ को राति सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकालको अन्तिम दिनबारे भावुक सन्देश सार्वजनिक गरेका थिए । उनले एप्पल समुदायप्रति आभार व्यक्त गर्दै नयाँ अध्यायका लागि आफू उत्साहित रहेको बताएका थिए ।

को हुन् जोन टर्नस?

५१ वर्षीय जोन टर्नस सन् २००१ मा एप्पलमा प्रवेश गरेका थिए । हार्डवेयर इन्जिनियरिङ टोलीमा काम गर्दै अघि बढेका उनी सन् २०१३ मा उपाध्यक्ष र सन् २०२१ मा हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष बनेका थिए । एप्पलले सन् २०२६ को अप्रिलमा उनलाई कुकको उत्तराधिकारी घोषणा गरेको थियो ।

एप्पलमा आउनुअघि उनले भर्चुअल रिसर्च सिस्टम्समा यान्त्रिक इन्जिनियरका रूपमा काम गरेका थिए । उनले पेन्सिलभेनिया विश्वविद्यालयबाट यान्त्रिक इन्जिनियरिङ अध्ययन गरेका छन् । टर्नस एप्पलको इतिहासमा आठौँ प्रमुख कार्यकारी बनेका छन् । उनीभन्दा अघि माइकल स्कट, माइक मार्ककुला, जोन स्कली, माइकल स्पिन्डलर, गिल एमेलियो, स्टिभ जब्स र टिम कुकले यो जिम्मेवारी सम्हालेका थिए ।

टर्नसले स्टिभ जब्सको नेतृत्वको समयमा पनि एप्पलमा काम गरेका थिए । लामो समय हार्डवेयर टोलीमा रहेकाले उनलाई एप्पलको उत्पादन विकास र इन्जिनियरिङ संस्कृतिको राम्रो ज्ञान रहेको मानिन्छ । आइप्याड, एयरपड्स, आइफोन र एप्पल घडीजस्ता प्रमुख उत्पादनको विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

टर्नसका अगाडि ठूला चुनौती

नयाँ प्रमुख कार्यकारीका रूपमा टर्नसले कृत्रिम बौद्धिकताको क्षेत्रमा एप्पललाई गुगल र ओपनएआईजस्ता कम्पनीसँग प्रतिस्पर्धामा अघि बढाउनुपर्ने चुनौती छ । साथै, उपभोक्ता विद्युतीय सामग्रीको बजारमा देखिएको सुस्तताबीच नयाँ आम्दानीका स्रोत खोज्नुपर्नेछ ।

फोल्ड गर्न मिल्ने आइफोन, नयाँ उत्पादन तथा प्रविधिको विकास, युरोपेली संघ र अमेरिकामा एप्पलका सेवामाथि भइरहेका कानुनी तथा नियामकीय चुनौती र आपूर्ति व्यवस्थापन पनि उनका प्रमुख चुनौती हुनेछन् । चीनमा उत्पादन तथा आपूर्ति व्यवस्थापनप्रतिको निर्भरता र बढ्दो राजनीतिक तनावबीच सन्तुलन कायम गर्नु पनि टर्नसका लागि महत्वपूर्ण हुनेछ । साथै, कुकको कार्यकालमा रहेको नेतृत्व टोलीमा आवश्यक परिवर्तन गरी नयाँ नेतृत्व विकास गर्नुपर्ने चुनौतीसमेत उनीसामु रहनेछ ।

टर्नसको प्रारम्भिक ठूलो परीक्षा भने सेप्टेम्बर ९ मा हुने एप्पलको नयाँ उत्पादन सार्वजनिक कार्यक्रम हुनेछ। उक्त कार्यक्रममा आइफोन १८ सहित नयाँ उत्पादन सार्वजनिक हुने अपेक्षा गरिएको छ। एप्पलको पहिलो फोल्ड गर्न मिल्ने आइफोनलाई लिएर समेत व्यापक चासो रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै