• २०८३ भदौ १६ मंगलबार

इमरान खानलाई अदालतको राहत, जेलमै रहेकी पत्नीसँग भेटको व्यवस्था मिलाउन आदेश

इमरान खानलाई अदालतको राहत, जेलमै रहेकी पत्नीसँग भेटको व्यवस्था मिलाउन आदेश

काठमाडौँ । पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई थप एकान्त कारावासमा नराख्न आदेश दिएको छ ।

इस्लामाबाद उच्च अदालतले रावलपिन्डीस्थित अडियाला कारागार प्रशासनलाई कारागार नियमअनुसार इमरान खान र बुशरा बीबीबीच भेटको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

अदालतले खानका परिवारका सदस्यलाई कारागार नियमअनुसार भेट्न दिन तथा उनका छोराहरूसँग टेलिफोनमार्फत कुराकानीको व्यवस्था गर्नसमेत आदेश दिएको छ । साथै, उनलाई दैनिक पत्रपत्रिका र पुस्तक उपलब्ध गराउन तथा कारागार नियमअनुसार आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । भ्रष्टाचारलगायत मुद्दामा उनी लामो कारावास सजाय भोगिरहेका छन् । उनकी पत्नी बुशरा बीबी पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा सजाय पाएपछि अडियाला कारागारमा रहेकी छन् ।

इमरान खानकी बहिनी अलीमा खानले उनलाई एकान्त कारावासमा राखिएको भन्दै अदालतमा निवेदन दिएकी थिइन् । बुशरा बीबीकी छोरी मुबाशेरा खावर मानेकाले पनि आमाको अवस्थाबारे छुट्टै निवेदन दिएकी थिइन् ।

अदालतले अडियाला कारागारका प्रमुखलाई आदेश कार्यान्वयन गरी १५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको छ ।

यसैबीच, इमरान खानको स्वास्थ्यलाई लिएर विवादसमेत जारी छ । सर्वोच्च अदालतले उनलाई उपचारका लागि निजी अस्पतालमा भर्ना गर्न आदेश दिएको भए पनि सुरक्षा कारण देखाउँदै उनलाई सरकारी अस्पताल लगिएको र पछि पुनः अडियाला कारागार फर्काइएको थियो ।

यस विषयमा खानको परिवारले अदालतमा अवहेलना निवेदन दिएको छ । उक्त निवेदनमा सेप्टेम्बर १६ मा सुनुवाइ हुने तय भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै