• २०८३ भदौ १७ बुधबार

भोटेकोशी बाढीले सडक र पुलमा ठूलो क्षति, ३१ मोटरेबल पुल बगे

भोटेकोशी बाढीले सडक र पुलमा ठूलो क्षति, ३१ मोटरेबल पुल बगे

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीका कारण यातायात पूर्वाधारमा ठूलो क्षति पुगेको जानकारी दिएका छन् ।

बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किलोमिटर सडक प्रभावित भएको छ । बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डमा ४० किलोमिटर सडक पूर्ण रूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा पनि क्षति पुगेको छ ।

बाढीले ४८ वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । तीमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री शाहले बताएका छन् । प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुलसमेत बगेका छन् ।

पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी खण्डमा लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । गल्छी–देवीघाट खण्डमा लेदो हटाएर बेलिब्रिज निर्माणको काम भइरहेको छ भने तादी–देवीघाट र वेत्रावतीमा पनि बेलिब्रिज राख्ने तयारी अघि बढाइएको बताइएको छ ।

सडक निर्माण तथा मर्मतका लागि ५० जना प्राविधिक परिचालन भएका छन् । सडक बोर्डअन्तर्गत तत्कालका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने थप आवश्यक रकम सम्बन्धित आयोजनाको बजेटबाट खर्च गर्ने अनुमति दिइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

क्षतिग्रस्त पूर्वाधारको विवरण हेलिकप्टर तथा पैदलमार्फत संकलन भइरहेको र थप २० स्थानमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ भने तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको उनले बताए ।

यसैगरी, बाढीले क्षति पुर्‍याएको मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै