काठमाडौँ । ओपनएआईले व्यापारिक गोपनीयता चोरी गरेको एप्पलको आरोप अस्वीकार गर्दै एप्पलले आफ्ना पूर्वकर्मचारीले कुनै गोप्य सूचना चोरी गरेको प्रमाणित गर्न नसकेको दाबी गरेको छ ।
ओपनएआईले अमेरिकी जिल्ला अदालतमा बुझाएको जवाफमा यो विवाद एप्पलकै कारण सिर्जना भएको र त्यसको दोष अरूमाथि लगाउन खोजिएको बताएको छ ।
एप्पलले गत जुलाईमा ओपनएआई तथा आफ्ना पूर्वकर्मचारी ट्याङ ट्यान र चाङ लिउविरुद्ध मुद्दा दायर गर्दै हार्डवेयर डिजाइन, उत्पादन र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित व्यापारिक गोपनीयता दुरुपयोग गरेको आरोप लगाएको थियो ।
ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यान नेतृत्वको कम्पनीले एप्पलले सम्भावित प्रतिस्पर्धीलाई रोक्न र आफ्ना कर्मचारी अन्यत्र जान निरुत्साहित गर्न मुद्दा प्रयोग गरेको आरोप लगाएको छ । अदालतमा दुवै कम्पनीले बुझाएका कागजातअनुसार ओपनएआईले आफ्नो हार्डवेयर योजनाका लागि एप्पलबाट करिब ४०० कर्मचारी भित्र्याएको छ ।
ओपनएआईले क्यालिफोर्नियाको कानुनले कर्मचारीलाई प्रतिस्पर्धी कम्पनीमा जान स्वतन्त्रता दिएको उल्लेख गरेको छ ।
एप्पलले भने ट्यान र लिउले कम्पनी छाडेपछि पनि आन्तरिक फाइलमा पहुँच राखेको दाबी गरेको थियो । त्यसको जवाफमा ओपनएआईले एप्पलले आफ्ना कर्मचारीलाई व्यक्तिगत ‘आइक्लाउड’ खातामार्फत कार्यालयका कागजातमा पहुँच गर्न र काम गर्न प्रोत्साहित गर्ने गरेको जनाएको छ । यस्तो व्यवस्थाका कारण कर्मचारीले व्यक्तिगत र कम्पनीका सामग्री छुट्याउन कठिन हुने ओपनएआईको भनाइ छ ।
ओपनएआईले कर्मचारीले कम्पनी छाड्दा तत्काल कार्यालयबाट बाहिर पठाउने एप्पलको प्रक्रियाले कम्पनीका उपकरण फिर्ता गर्ने, आन्तरिक फाइल हस्तान्तरण गर्ने र जिम्मेवारी बुझाउने पर्याप्त समयसमेत नदिने दाबी गरेको छ ।
पूर्वकर्मचारी लिउले एप्पल छाडेपछि कम्पनीका कागजातमा गरेको कुनै पनि पहुँच पूर्वसहकर्मीलाई फाइल खोज्न वा एप्पलसम्बन्धी कामका प्रश्नको जवाफ दिनका लागि मात्र भएको बताएका छन् ।
यस्तै, एप्पलमा २४ वर्ष काम गरेका ट्यानले कम्पनी छाड्नुअघि सबै नमुना उपकरण फिर्ता गरेको र गैरगोप्य सामग्री मात्र आफूसँग राखेको बताएका छन् ।
ओपनएआईले एप्पलले कृत्रिम बौद्धिकताको क्षेत्रमा ढिलो अघि बढेको भन्दै कर्मचारीले नयाँ र नवीन उत्पादन बनाउने कम्पनी रोज्नु गैरकानुनी नभएको दाबी गरेको छ । कम्पनीले एप्पलका आफ्नै प्रक्रियागत कमजोरीलाई आधार बनाएर अरूमाथि दोष थोपर्न नमिल्ने बताएको छ ।









