नुवाकोट । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीमा २४ जनाको शव फेला परेको घर बच्चुराम अवस्थीको भएको खुलेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम शव खोजी रहेको अवस्थामा प्रहरीको ड्रोनले एक शव देखेपछि सो घरमा पुगेको थियो ।
ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावती स्थित बच्चुराम अवस्थीको घर भएको खुलेको छ । घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शव सम्म पुग्न निकै नै कठिन भएको र नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गरेर दलदले हिलो माथि उक्त सामाग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घर सम्म पुग्न सफल भएका थिए ।
उक्त घरमा प्रवेश गरे पछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शव मध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेको प्रहरीले जनाएको छ ।









