काठमाडौँ । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै विभिन्न राजमार्ग प्रयोग गर्ने सवारीसाधनको चाप बढेकाले मकवानपुर प्रशासनले सवारी आवागमन व्यवस्थित गर्न विशेष व्यवस्था लागू गर्ने घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने वैकल्पिक सडकको क्षमता र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै भदौ १६ गते मंगलबारदेखि सवारी आवागमन व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
विगत दुई दिनको ट्राफिक व्यवस्थापनको अवस्थासमेत विश्लेषण गरी वैकल्पिक सडकमा सवारीको चाप घटाउने, आवागमन सहज बनाउने तथा यात्रुको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक व्यवस्था गर्न लागिएको प्रशासनले जनाएको छ ।
जसअनुसार प्रशासनले तीन बुँदे निर्देशन दिएको छ:
१- १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने र फर्किंदा कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था मिलाउने । साथै, मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारी साधनहरू अनिवार्य रूपमा साँझ ६ बजे भित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्नु पर्ने ।
२- १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधनहरू हेटौंडातर्फ आउँदा फर्पिङ्- फाखेल कुलेखानी हुँदै भिमफेदी तर्फ आउने तथा काठमाडौंतर्फ जाँदा भीमफेदी- कुलेखानी - सिस्नेरी - दक्षिणकाली हुँदै जाने व्यवस्था मिलाउने ।
३- विपद्जन्य समय भएकोले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्ने, कुनै पनि राजमार्गमा सवारी चालकहरूले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी/ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्ने ।









