काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको पाखापानीदेखि लमहीसम्म सडक क्षेत्रभित्रका रूख अवैध रूपमा कटानी गरी सरकारी सम्पत्तिमा हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अनुसन्धानका क्रममा उक्त क्षेत्रमा २ हजार ७२४ वटा रूख कटानी गरी ४० हजार ५५५ घनफिट काठ निकालिएको र त्यसबाट ८१ लाख ३७ हजार ९०० रुपैयाँ सरकारी नोक्सानी भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
आरोपपत्र दायर गरिएकामा सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल, तत्कालीन डिभिजन वन कार्यालय दाङका वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर १ का अध्यक्ष गेमे खड्का, वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरी तथा स्थानीय अभिमान चौधरी, नन्दु गिरी, झविन्द्रप्रसाद भण्डारी र केशरबहादुर चौधरी रहेका छन् ।
अख्तियारले मुख्य प्रतिवादीहरूबाट बिगो असुल गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ । अन्य प्रतिवादीलाई मुख्य कसुरदारको मतियारका रूपमा सजायको माग गरिएको छ ।









