काठमाडौं । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडीले पदीय मर्यादाविपरीतका काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा २०४६ वैशाख १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो ।
आयोगका अनुसार उक्त अवधिमा सुडी र उनको एकाघर परिवारको वैधानिक आय विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा रहेको देखिएको छ । तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा, अध्ययन खर्च, ऋण तिर्ने रकम, बैंक मौज्दात तथा विभिन्न लगानीसहित ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।
वैधानिक आयभन्दा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी रहेको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ । आयोगले सुडीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत रहेको देखिएको जनाएको छ ।
आयोगले सुडी र उनकी श्रीमतीविरुद्ध कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।









