काठमाडौँ । आज रोपाईं जात्रा मनाइदैछ । नेवार संस्कृतिबाट सुरू भएको रोपाईं जात्रा धानको रोपाईं गरेपछि मनाइन्छ । धान रोप्ने काम सकिएको खुशियालीमा यो जात्रा मनाइन्छ ।
विशेषगरी गाईजात्राको भोलिपल्ट रोपाईं जात्र मनाइने गरिन्छ । रोपाईं जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाईं जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला ९धान रोप्ने खेतहरू मात्र भएको ठाउँ०मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् । प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।
सोह्रौँ, सत्रौँ शताब्दिदेखि नै रोपाइँजात्रा मनाउन थालिएको बताइन्छ । खेतीपाती सम्पन्न गरिएको खुसीयाली मनाइने यस जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरका सदस्य सहभागी हुने प्रचलन छ । बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीले रोपाइँ गरिँदा गरिने क्रियाकलाप जस्तैः हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीसहित जात्रा मनाउने गर्दछन् ।
कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ पनि भनिन्छ । त्यहाँको चलन अनुसार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । त्यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जसको घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ ।









