• २०८३ भदौ १३ शनिबार

शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ

शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी महाधिवेशन प्रक्रिया अघि बढाउने बताएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै देउवा समुहका संयोजक समेत रहेका कोइरालाले अदालतमा विवाद विचाराधीन रहेको अवस्थामा पार्टीमा थप विवाद वा विभाजन निम्त्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेको बताएका हुन् ।

उनले क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति गठनलगायत आवश्यक काम अघि बढाएर सबै तहका अधिवेशन गर्ने र महाधिवेशनको कार्यतालिका पनि छिट्टै सार्वजनिक गरिने बताएका छन् ।

कोइरालाले तथाकथित विशेष महाधिवेशनबाट बनेको स्वघोषित कार्यसमितिले गर्ने अधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन र १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गर्ने महाधिवेशनको तयारीमा जुट्न पार्टीका पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।

उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको र पार्टी विधानअनुसार वर्तमान कार्यसमितिको पदावधि मंसिर मसान्तमा सकिने बताउदै संविधानअनुसार थप छ महिनाको अवधि रहेको भए पनि स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन करिब एक वर्षभित्र हुने भएकाले पार्टीलाई समयमै व्यवस्थित र एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ ।

कोइरालाले मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बन्दै गएको भन्दै राष्ट्रियता, सार्वभौमिकता र नागरिक स्वतन्त्रता संकुचित हुँदै गएको महसुस आम नेपालीले गरिरहेको बताएका छन् । यस्तो अवस्थामा एकताबद्ध, सबल र सक्षम कांग्रेस निर्माण गर्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले विगतका सिद्धान्त र अभ्यासका आधारमा यथाशीघ्र टुंग्याउने र आफूहरूले न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् । आवेग, उत्तेजना र आरोप–प्रत्यारोपबाट नभई संयमता, धैर्य र आत्मीयताका साथ पार्टीलाई सबै तहमा सबल र लोकप्रिय बनाउने उनले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै