• २०८३ भदौ १२ शुक्रबार

लर्ड्स टेस्ट विवादमा, पाकिस्तानले किन दिएको थियो बहिष्कारको धम्की ?

लर्ड्स टेस्ट विवादमा, पाकिस्तानले किन दिएको थियो बहिष्कारको धम्की ?

काठमाडौँ । इंग्ल्यान्ड र पाकिस्तानबीच लर्ड्समा दोस्रो टेस्ट खेल भइरहेका बेला पाकिस्तानले खेल बहिष्कार गर्ने चेतावनी दिएको खुलेको छ ।

खेलका आधिकारिक प्रसारक स्काई स्पोर्ट्सले पाकिस्तानका जेलमा रहेका पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरू कासिम र सुलेमान खानको अन्तर्वार्ता प्रसारण गरेपछि पाकिस्तान क्रिकेट बोर्ड असन्तुष्ट बनेको खुलासा भएको छ ।

इंग्ल्यान्डका पूर्वकप्तान माइक एथरटनले गरेको अन्तर्वार्तामा इमरानका छोराहरूले आफ्ना बुबाको स्वास्थ्य र कमजोर हुँदै गएको दृष्टिबारे चिन्ता व्यक्त गरेका थिए । पाकिस्तान क्रिकेट बोर्डले खेल प्रसारणमा राजनीतिक विषय समावेश गरिएको भन्दै औपचारिक उजुरी दर्ता गरेको थियो । पाकिस्तानले अन्तर्वार्ता प्रसारण भए आफ्ना खेलाडीलाई दिउँसोको सत्रमा मैदानमा नपठाउने चेतावनी दिएको थियो ।

तर स्काई स्पोर्ट्सले लन्च ब्रेकमा अन्तर्वार्ता प्रसारण गर्नुअघि नै रोकिदिएपछि पाकिस्तान आफ्नो चेतावनीबाट पछि हटेको बताइएको छ । पाकिस्तानी टोली दिउँसोको सत्रमा मैदानमा फर्किएको थियो । 

७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । उनले आफूविरुद्धका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउँदै आएका छन् ।

यसअघि कपिल देव, सुनील गावस्करलगायत पूर्वअन्तर्राष्ट्रिय कप्तानहरूले इमरानको स्वास्थ्य र उचित उपचारको व्यवस्था गर्न पाकिस्तानी सरकारसँग आग्रह गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै