• २०८३ भदौ १२ शुक्रबार

बारकोला पीएसजी छोडेर लिभरपुल जादै

बारकोला पीएसजी छोडेर लिभरपुल जादै

काठमाडौँ । इङ्लिस क्लब लिभरपुलले फ्रान्सेली क्लब पीएसजीका युवा फरवार्ड ब्राडली बारकोलालाई भित्र्याउन सहमति जुटाएको छ।

ईएसपीएनका अनुसार २३ वर्षीय बारकोलाले लिभरपुलसँग पाँच वर्षको सम्झौता गर्ने भएका छन् । उनी पीएसजीबाट अनुमति पाएपछि लिभरपुल पुगेर स्वास्थ्य परीक्षण गर्ने तयारीमा रहेका छन् ।

फ्रान्स राष्ट्रिय टोलीका खेलाडी बारकोला लिभरपुलको मुख्य लक्ष्य रहेका थिए । लिभरपुलले करिब साढे ११ करोड युरोमा सहमति गरेको बताइएको छ । यसअघि पीएसजीले बारकोलाका लागि करिब १७ करोड युरो माग गरेको थियो ।

गत सिजन पीएसजीले फ्रान्सेली लिग र युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्दा बारकोलाको महत्वपूर्ण भूमिका रहेको थियो । पेरिसमा उनको वर्तमान सम्झौता अझै दुई वर्ष बाँकी रहे पनि उनी लिभरपुल जाने इच्छा व्यक्त गर्दै आएका थिए । लिभरपुल पुगेमा बारकोला क्लबको इतिहासमा दोस्रो महँगा खेलाडी बन्नेछन् । यसअघि लिभरपुलले गत बर्ष न्युक्यासल युनाइटेडबाट स्ट्राइकर अलेक्जान्डर इसाकलाई करिब साढे १४ करोड युरोमा अनुबन्ध गरेको थियो ।

यस वर्षको विश्वकपमा फ्रान्सका लागि आठ खेल खेल्दै बारकोलाले तीन गोल गरेका थिए । पीएसजीमा अग्रपंक्तिमा तीव्र प्रतिस्पर्धा रहेकाले उनी नियमित खेल समय पाउने उद्देश्यले नयाँ क्लबमा जान इच्छुक रहेका छन् । लिभरपुलले लामो समयका प्रमुख खेलाडी मोहम्मद सलाहले क्लब छाडेपछि अग्रपंक्तिको दुवै विन्ग्स बलियो बनाउने योजनालाई प्राथमिकतामा राखेको थियो । सलाहले यसै महिना निःशुल्क खेलाडीका रूपमा टर्कीको ट्राब्जोनस्पोरसँग आबद्ध भएका थिए ।

बारकोला लिभरपुल आएमा क्लबका अर्का फरवार्ड कोडी गाक्पोको भविष्यमा समेत असर पर्न सक्ने देखिएको छ । गाक्पोप्रति टोटनहम र म्यानचेस्टर सिटीले पनि चासो देखाइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै