काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली जलविद्युत् आयोजनाको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
बाढीको तीव्र बहाव र प्रतिकूल मौसमका बीच अत्यन्त जोखिमपूर्ण अवस्थामा सेनाले टनेलभित्र उद्धार अभियान सञ्चालन गरेको थियो। केही समयअघि टनेलभित्र फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोली परिचालन भइरहेको बताइएको छ ।
टनेलभित्रको जटिल उद्धार अभियानका लागि त्रिशुलीस्थित नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल मुख्यालयबाट जमदार भक्तजन बस्नेतको नेतृत्वमा खटिएको सैन्य टोली उद्धारमा जुटेको छ ।
यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट क्षेत्रमा समेत नेपाली सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ। धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको नेतृत्वमा परिचालित टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीलगायतका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।
नेपाली सेनाका अनुसार आज २०८३ भदौ ११ गते रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट गरी कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको हो।
विपद्को उच्च जोखिमका बीच सेनाले साहस, तत्परता र समर्पणका साथ उद्धार कार्य सञ्चालन गरेपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। उद्धार कार्य अझै जारी रहेको सेनाले जनाएको छ।









