काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत नेपाल ए ले दोस्रो जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा नेपाल ए ले एसिटीलाई ४ विकेटले पराजित गरेको हो ।
एसिटीले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ६१ रन बनाएका थिए भने पवन सराफले २९ र मयन यादवले २१ रन बनाएका थिए । त्यस्तै एसिटीका बलर जाक केओघले ३ विकेट तथा जीत मेहताले २ विकेट लिएका थिए ।
यसअघि टस हारेरपहिला ब्याटिंग गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका लागि डाइलान हन्टरले सर्बाधिक ४४ रन बनाए भने अंश तिवारीले १९ र जाक स्मिथले १४ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ३ र युवराज खत्रीले २ विकेट लिएका थिए भने पवन सराफ, विपिन कह्त्री र शाहब आलमले एक एक विकेट लिए ।
योसहित नेपाल ए ले ४ खेलमा दोस्रो जित हासिल गरेको छ । शुरुवाती दुवै खेलमा हार बेहोरेर खराब शुरुवात गरेको नेपाल ए ले त्यसपछिका दुवै खेल जितेको छ । प्रतियोगितामा नेपाल ए ले अर्को खेल अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।









