• २०८३ भदौ ७ आइतबार

समुद्रमुनिको संसार किन यति धेरै आवाजले भरिएको छ ?

समुद्रमुनिको संसार किन यति धेरै आवाजले भरिएको छ ?

काठमाडौँ । समुद्र, नदी र तालको सतहभन्दा मुनि मानिसले सामान्यतया नसुन्ने आवाजको एउटा छुट्टै संसार छ । त्यहाँ माछा, झिँगा, ह्वेल, डल्फिनदेखि साना कीरासम्मले विभिन्न किसिमका आवाज निकाल्छन् ।

भौतिकशास्त्री हेलेन जर्स्कीका अनुसार पानीको सतहले दुईतर्फी ऐनाजस्तो काम गर्छ । पानीमुनिको आवाज सतहसम्म पुगे पनि सतहमा ठोक्किएर फेरि पानीमै फर्किन्छ । त्यसैले पानीमुनिको आवाज जमिनमा रहेका मानिससम्म सहजै पुग्दैन ।

पानीभित्र करिब २०० मिटरभन्दा गहिराइमा सूर्यको प्रकाश निकै कम पुग्छ । त्यसैले समुद्री जीवका लागि टाढासम्म बाटो पहिल्याउन र एकअर्कासँग सम्पर्क गर्न आवाज महत्वपूर्ण माध्यम बनेको छ । पानीमा आवाज हावाभन्दा करिब साढे चारदेखि पाँच गुणा छिटो फैलिन्छ । ब्रिस्टल विश्वविद्यालयका समुद्री जीवविज्ञानी प्राध्यापक स्टिभ सिम्पसनको टोलीले गरेको अध्ययनअनुसार माछाले नयाँ समुद्री चट्टानी क्षेत्र पहिचान गर्न सबैभन्दा पहिले आवाजको सहारा लिन्छन् । त्यसपछि मात्र गन्ध र दृश्यजस्ता अन्य संकेत उपयोगी हुन्छन् ।

समुद्री जीवले आवाज निकाल्ने तरिका पनि निकै फरक हुन्छ । ह्वेलले शरीरभित्रको विशेष अंगबाट हावा प्रवाह गराएर आवाज निकाल्छन् । नीलो ह्वेल र फिन ह्वेलले निकाल्ने कम आवृत्तिका आवाज समुद्रमा निकै टाढासम्म पुग्न सक्छन् । दाँत भएका ह्वेल र डल्फिनले आफ्नो स्थान पत्ता लगाउन प्रतिध्वनि पहिचानको प्रयोग गर्छन् । उनीहरूले चट्कने र गुञ्जने आवाज निकालेर त्यसको प्रतिध्वनिबाट वरपरको अवस्थाबारे जानकारी लिन्छन् । केही माछाले शरीरभित्र रहेको हावाले भरिएको थैलीमा कम्पन उत्पन्न गरेर आवाज निकाल्छन् भने केहीले दाँत र जबडा प्रयोग गर्छन् ।

स्पाइनी लब्स्टरले आँखामुनि रहेको खस्रो सतहमा आफ्नो स्पर्शसूत्रको एक भाग घिसारेर घुरघुरे आवाज निकाल्छ । पश्चिमी प्रशान्त महासागरमा पाइने नर एम्बोन ड्याम्सेलफिसले पोथीलाई आफ्नो गुँडमा अण्डा पार्न आकर्षित गर्न चराको आवाजजस्तो तीव्र ध्वनि निकाल्छ ।

समुद्रको आवाजमा स्न्यापिङ झिँगाको भूमिका झनै अनौठो छ । यसले आफ्नो पञ्जा अत्यन्त तीव्र गतिमा बन्द गर्दा पानीमा एउटा सानो बुलबुला बन्छ । उक्त बुलबुला भित्रतिर विस्फोट हुँदा ठूलो आवाज र प्रकाशको चमक उत्पन्न हुन्छ । यसको तापक्रम करिब ३ हजार डिग्री सेल्सियससम्म पुग्न सक्ने वैज्ञानिकहरू बताउछन् । यस्तो आवाजले सिकारलाई केही समयका लागि अचेत बनाउन सक्छ ।

समुद्र मात्र होइन, नदी, ताल र पोखरी पनि आवाजले भरिएका हुन्छन् । क्यानडाको म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ता ज्याक ग्रिनहाल्घका अनुसार पानीमा पाइने केही कीराले शरीरका कडा भाग एकअर्कामा घिसारेर आवाज निकाल्छन् ।

‘पिग्मी वाटर बोटम्यान’ नामको करिब दुई मिलिमिटर लामो कीराले आफ्नो शरीरको भाग घिसारेर करिब १०० डेसिबलसम्मको आवाज निकाल्न सक्छ । यो आवाज ठूलो सङ्गीत कार्यक्रमको अगाडिको पङ्क्तिबाट सुनिने आवाजको स्तरसँग तुलना गर्न सकिन्छ ।

पानीमुनिका वनस्पति र शैवालले पनि प्रकाश संश्लेषणका क्रममा आवाज निकाल्ने गरेको देखिएको छ । वैज्ञानिकहरूका अनुसार उनीहरूले निकाल्ने अक्सिजनका साना बुलबुलाका कारण चट्चट् वा टिक्टिक् जस्ता आवाज उत्पन्न हुन सक्ने अनुमान गरिएको छ । तर पानीमुनिको प्राकृतिक ध्वनि संसारमा मानवीय गतिविधिको प्रभाव पनि बढिरहेको छ । जहाज, माछा मार्ने डुङ्गा, मोटरबोट तथा समुद्रमा हुने तेल र ग्यास उत्खननका कारण उत्पन्न हुने आवाजले समुद्री जीवलाई तनावमा पार्ने गरेको अनुसन्धानले देखाएको छ ।

ग्रेट ब्यारियर रिफमा गरिएको अध्ययनमा चट्टानी क्षेत्रमा डुङ्गाको आवतजावत बढ्दा माछाको प्रजननमा करिब ४० प्रतिशत कमी आएको पाइएको थियो । डुङ्गाको आवतजावत घटाएपछि भने समुद्री क्षेत्रको प्राकृतिक शान्त वातावरण पुनः फर्किएको थियो ।

समुद्री चट्टानी क्षेत्र नष्ट हुँदा त्यहाँ बस्ने आवाज निकाल्ने जीव हराउने वा मर्ने भएकाले पानीमुनिको ध्वनि पनि निकै कम हुन्छ । सिम्पसनका अनुसार स्वस्थ चट्टानी क्षेत्रमा सुनिने चट्कने, गडगडाउने र विभिन्न किसिमका आवाज नष्ट भएको क्षेत्रमा लगभग हराएर जान्छन् ।

यसको समाधानका लागि वैज्ञानिकहरूले पानीमुनि राखिएका ध्वनि उपकरणमार्फत स्वस्थ समुद्री चट्टानी क्षेत्रको पुरानो आवाज बजाएर समुद्री जीवलाई पुनः आकर्षित गर्न सकिने सम्भावनाबारे अध्ययन गरिरहेका छन् ।

वैज्ञानिकहरूका अनुसार पानीमुनिको आवाज बुझ्नु समुद्री पारिस्थितिक प्रणाली कसरी काम गर्छ भन्ने थाहा पाउने माध्यम मात्र होइन, त्यसको संरक्षणका लागि पनि महत्वपूर्ण हुन सक्छ । पानीमुनिको संसारमा सुनिने साना चट्काइ, गुञ्जाइ र सामूहिक आवाजले समुद्रको स्वास्थ्यबारे महत्वपूर्ण जानकारी दिन सक्छन् ।

(बिबिसीबाट भावानुवादित)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै