काठमाडौँ । बायर्न म्युनिखले जर्मन फुटबल सिजनको पहिलो उपाधि जितेको छ । जर्मन सुपर कपअन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डोर्टमन्डलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेल डर्टमन्डस्थित सिग्नल इडुना पार्कमा भएको थियो ।
बायर्नले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको २८औँ मिनेटमा नाथानियल ब्राउनले माइकल ओलिसेको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पहिलो हाफको थप समयमा ओलिसेले गोल गर्दै बायर्नको अग्रता २-० बनाएका थिए ।
दोस्रो हाफमा डोर्टमन्डले खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ७५औँ मिनेटमा फाबियो सिल्भाले गोल गर्दै अन्तर २-१ मा झारेका थिए । ड्यानियल स्वेन्सनको पासमा सिल्भाले डोर्टमन्डका लागि गोल गरेका थिए ।
डोर्टमन्डले बराबरी गोलका लागि लगातार आक्रमण गरे पनि बायर्नले अग्रता जोगायो । खेलको ९०औँ मिनेटमा डोर्टमन्डका राम्मी बेन्सेबैनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली थप दबाबमा परेको थियो । अन्तिम समयमा म्याक्सिमिलियन बेयरले बराबरीको राम्रो अवसर पाए पनि गोल गर्न सकेनन् ।
यस जितसँगै बायर्नले जर्मन सुपर कपको उपाधि १२औँ पटक जितेको छ । प्रशिक्षक भिन्सेन्ट कोम्पानीको टोलीले लगातार दोस्रो पटक सुपर कप जित्दै नयाँ सिजनमा उपाधिसहित सुरुवात गरेको हो ।
खेलमा माइकल ओलिसे बायर्नका प्रमुख खेलाडी बने । उनले एक गोल गर्नुका साथै एक गोलमा सहयोग गरेका थिए । बायर्नका स्टार खेलाडी जमाल मुसियाला भने टोलीमा थिएनन् । बायर्नले अब नयाँ सिजनको जर्मन लिगमा भीएफबी स्टुटगार्टसँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछ ।









