• २०८३ भदौ ४ बिहीबार

केन्यामा हेलिकोप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु

केन्यामा हेलिकोप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु

काठमाडौँ । केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको अमेरिकी विदेश मन्त्रालय र स्थानीय प्रहरीले जनाएको छ ।

केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकोप्टरमा छ यात्रु र एक चालक गरी सात जना थिए । केन्याको लोइसाबा संरक्षण क्षेत्रबाट साम्बुरु काउन्टीको इवासो न्यिरोतर्फ जाँदै गर्दा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर दुर्गम र उबडखाबड क्षेत्रमा रहेको माउन्ट ओलोलेक्वेको फेदीमा खसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकोप्टर स्थानीय कम्पनीको रहेको र सफारी कम्पनीसँग यात्रा गरिरहेका पर्यटकका लागि भाडामा सञ्चालन गरिएको थियो ।

दुर्घटनापछि खोज तथा उद्धारका लागि दुई हेलिकोप्टर परिचालन गरिएको थियो भने केन्या रेडक्रसका आपत्कालीन टोली पनि उद्धार अभियानमा सहभागी भएका थिए । मृतकको आधिकारिक पहिचान सार्वजनिक गरिएको छैन । यद्यपि अमेरिकी सञ्चारमाध्यमका अनुसार मृतकमध्ये ५५ वर्षीय जोस सुआरेज पनि थिए । अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

दुर्घटनामा परेको हेलिकोप्टर यूरोकप्टर ईसी–१३० बी४ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । उडानका क्रममा प्राविधिक समस्या आएको थियो वा अन्य कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धानबाट स्पष्ट पारिनेछ ।

केन्यामा यसअघि पनि दुर्गम क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएका छन् । गत फेब्रुअरीमा पश्चिमी केन्याको पहाडी क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै