काठमाडौँ । अमेरिकी अदालतमा सामाजिक सञ्जालका किशोर प्रयोगकर्तालाई हानिकारक सामग्रीबाट जोगाउन नसकेको आरोपमा मेटाविरुद्ध चलिरहेको मुद्दा थप गम्भीर बनेको छ ।
मेटाविरुद्धको यो मुद्दालाई सामाजिक सञ्जाल कम्पनीविरुद्धको सबैभन्दा ठूलो कानुनी लडाइँमध्ये एक मानिएको छ । मुद्दामा मेटाबाट २०० अर्ब अमेरिकी डलरसम्म क्षतिपूर्ति माग गरिएको छ । यसका साथै अदालतसँग मेटाका सामाजिक सञ्जालको संरचना र सञ्चालन प्रणालीमा ठूलो परिवर्तन गर्न आदेश दिन पनि माग गरिएको छ । यस घटनालाई सन् १९९० को दशकमा अमेरिकी तम्बाकु उद्योगविरुद्ध चलेका मुद्दासँग तुलना गरिएको छ । त्यतिबेला पनि कम्पनीहरूले आफ्ना उत्पादनबाट हुने हानिबारे जानकारी हुँदाहुँदै व्यापारलाई निरन्तरता दिएको आरोप लागेको थियो ।
यही क्रममा मेटाका पूर्व इन्जिनियरिङ निर्देशक तथा सल्लाहकार आर्टुरो बेजरले कम्पनीले सार्वजनिक गरेको तथ्यांकभन्दा किशोरले हानिकारक तथा आपत्तिजनक सामग्री हेरेको वास्तविक संख्या करिब ४०० गुणासम्म बढी रहेको दाबी गरेका छन् ।
बेजरका अनुसार मेटाले सार्वजनिक गरेको प्रतिवेदनमा किशोर प्रयोगकर्ताले अश्लील, हिंसात्मक वा अन्य गम्भीर दृश्य सामग्रीको सामना गर्ने जोखिम शून्य दशमलव शून्य एकदेखि ०.०२ प्रतिशतसम्म रहेको उल्लेख गरेको थियो । तर कम्पनीभित्र गरिएको अध्ययनमा यस्तो सामग्रीको पहुँच सार्वजनिक तथ्यांकभन्दा १०० देखि ४०० गुणासम्म बढी देखिएको उनले अदालतमा बताएका छन् ।
मेटामा प्रयोगकर्ता सुरक्षासम्बन्धी काम गर्दा गरिएको आफ्नो अध्ययनले किशोरहरू अनलाइन दुर्व्यवहार, धम्की र उत्पीडनको सामना गर्ने अवस्था कम्पनीको आधिकारिक तथ्यांकमा देखाइएभन्दा निकै ठूलो रहेको बेजरको भनाइ छ ।
उनका अनुसार मेटाको प्रणालीले कम्पनीका नीतिहरू प्रत्यक्ष रूपमा उल्लङ्घन गर्ने सामग्री र घटनालाई मात्र गणना गर्ने गरेको थियो । तर उनको अध्ययनमा किशोर प्रयोगकर्तासँग उनीहरूले भोगेको वास्तविक अनुभवबारे प्रत्यक्ष जानकारी लिइएको थियो । यसबाट कम्पनीको नीति उल्लङ्घन नगर्ने सामग्रीसमेत किशोरका लागि मानसिक रूपमा पीडादायी वा हानिकारक हुन सक्ने देखिएको उनले बताएका छन् ।
यस विषयमा अमेरिकाका २९ राज्यले मेटाविरुद्ध कानुनी लडाइँ अघि बढाएका छन्। क्यालिफोर्निया, कोलोराडो, केन्टकी र न्यु जर्सीका महान्यायाधिवक्ताको नेतृत्वमा क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतमा मुद्दाको सुनुवाइ भइरहेको छ । राज्यहरूले मेटालाई आफ्ना सामाजिक सञ्जालले बालबालिका तथा किशोरलाई हानि पुर्याउन सक्ने कुरा थाहा हुँदाहुँदै पनि व्यापारिक आम्दानी र प्रयोगकर्ताको संलग्नतालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
मुद्दामा फेसबुक र इन्स्टाग्राममा निरन्तर तलतिर सामग्री हेर्न मिल्ने व्यवस्था, प्रयोगकर्ताको रुचिअनुसार सामग्री सिफारिस गर्ने प्रणाली र बारम्बार आउने सूचनाजस्ता सुविधा बालबालिकालाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी तयार गरिएको आरोप पनि लगाइएको छ । त्यसैगरी, अभिभावकको अनुमति नलिई १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण संकलन गरेको आरोपसमेत मेटामाथि लगाइएको छ ।
आगामी साताहरूमा हुने सुनुवाइका क्रममा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग र इन्स्टाग्राम प्रमुख एडम मोसेरीले समेत अदालतमा बयान दिनुपर्ने सम्भावना रहेको छ । मेटाले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेको छ । कम्पनीले राज्यहरूले प्रस्तुत गरेका प्रमाणलाई गलत सन्दर्भमा प्रयोग गरिएको दाबी गरेको छ ।
मेटाका अनुसार प्रयोगकर्तालाई सुरक्षित बनाउन कम्पनीले ठूलो रकम लगानी गरेको छ । साथै, तोकिएको न्यूनतम उमेर पूरा नगरेका लाखौँ बालबालिकाका खाता हटाइएको पनि कम्पनीले जनाएको छ । तर अदालतको फैसला मेटाविरुद्ध आएमा कम्पनीले ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने मात्र नभई फेसबुक र इन्स्टाग्रामका प्रमुख सुविधामा समेत ठूलो परिवर्तन गर्नुपर्ने हुन सक्नेछ ।









