काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सामितिको बैठकले पार्टीको १५औँ महाधिवेशन पूर्वनिर्धारित समयमै २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय यथावत् राखेको छ ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनलाई केवल निर्वाचन प्रक्रियामा सीमित नगरी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको अवसरका रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले मुलुकको समसामयिक राजनीतिक अवस्था, आर्थिक तथा सामाजिक समस्या, जनताको दैनिक जीवनसँग जोडिएका विषय, सरकारको कार्यसम्पादन तथा पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल गरी विभिन्न निर्णय गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापन समिति सभापति गगन थापाको संयोजकत्वमा गठन गर्ने निर्णय गरेको छ । समितिले आवास, खानपान, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका विषय हेर्न विभिन्न उपसमिति गठन गर्नेछ ।
अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचनमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहको निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने निर्णय पनि बैठकले गरेको छ ।
महाधिवेशन तयारीका लागि आवश्यक अन्य समिति गठन तथा संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी पनि सभापति थापालाई दिइएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेस गर्ने भएका छन्। प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई प्राथमिकता दिइनेछ । उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा प्रस्ताव पेस गर्नेछन् । त्यस्तै उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने निर्णय भएको छ ।
कांग्रेसले पार्टीको विधानलाई समयअनुकूल बनाउँदै संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनको प्रस्ताव तयार गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिले पार्टीका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव लिएर विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नेछ ।
कांग्रेसले सबै क्रियाशील सदस्यको डिजिटल अभिलेख व्यवस्थित गर्ने निर्णय गरेको छ । सदस्यता वितरण, नवीकरण, अद्यावधिक तथा अभिलेखीकरणलाई सरल, विश्वसनीय र प्रभावकारी बनाउने तथा प्रक्रिया पूरा गरेका सदस्यलाई पार्टी परिचयपत्र उपलब्ध गराउने निर्णय गरिएको छ ।
छुटेका सदस्यलाई निश्चित समय तोकेर पुनः अद्यावधिक गर्ने अवसर दिइने र सदस्यता व्यवस्थापन समितिले गरेका निर्णयसमेत बैठकले अनुमोदन गरेको छ ।
महाधिवेशनको प्रक्रिया सरल, पारदर्शी, सहभागितामूलक र विवादरहित बनाउन नियमावली, निर्वाचन निर्देशिका तथा कार्यविधिमा आवश्यक परिमार्जन गर्ने निर्णय कांग्रेसले गरेको छ । विशेष महाधिवेशनबाट प्राप्त सुझावका आधारमा पार्टीको नियमावली २०७६ तथा निर्वाचन निर्देशिका २०८३ मा आवश्यक संशोधन गरी लागू गर्ने निर्णय भएको छ । कांग्रेसले सञ्चालन गर्ने ‘एनसी फर एनसी’ कार्यक्रमको कार्यविधिसमेत पारित गरिएको छ ।
विशेष परिस्थितिमा १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न आवश्यक देखिएको भन्दै विधानको धारा ३५ को उपधारा २ को खण्ड घ सम्बन्धमा विधानबमोजिम आवश्यक निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघलगायत भ्रातृ संस्थाका विधान आवश्यक संशोधन तथा परिमार्जनसहित पारित गरेको छ । भ्रातृ संस्थालाई पार्टीको लोकतान्त्रिक आधार, नेतृत्व विकास र संगठन विस्तारका प्रभावकारी माध्यमका रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ । उनीहरूको नियमित अधिवेशन, संस्थागत अनुशासन, नेतृत्व विकास र सक्रियता सुनिश्चित गर्ने निर्णय पनि गरिएको छ । बैठकले केन्द्रीय कार्यसम्पादन समितिले यसअघि गरेका निर्णयको समीक्षा गरी अनुमोदनसमेत गरेको छ ।
कांग्रेसले बैठकमार्फत संविधानको रक्षा तथा आवश्यक सुधार, लोकतान्त्रिक मूल्यको संरक्षण, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सद्भाव, विपद् व्यवस्थापन, उत्पादन तथा लगानी विस्तार र नागरिकका आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
कांग्रेसले सरकारका कमजोरी औँल्याउनु मात्र आफ्नो उद्देश्य नभएको भन्दै वैकल्पिक नीति, सक्षम संगठन, लोकतान्त्रिक संस्कार र जिम्मेवार राजनीतिक नेतृत्वमार्फत मुलुकलाई नयाँ दिशा दिने दाबी गरेको छ । पार्टीले लोकतन्त्रको रक्षा, संविधानको सुदृढीकरण, सुशासन, आर्थिक पुनरुत्थान, सामाजिक न्याय र नागरिक सम्मानका लागि आफ्नो जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।









