काठमाडौँ । महोत्तरीको औरही नगरपालिकामा चापाकल तथा खानेपानीका सामग्री खरिद र वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी सामानको दररेटमा १५ प्रतिशत थप गरिएको थियो। गैरकानुनी लाभ लिने उद्देश्यले गरिएको उक्त कार्यबाट स्थानीय तह र नेपाल सरकारलाई आर्थिक हानि पुर्याइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगले एउटै वस्तु तथा सेवाको खरिदलाई विभिन्न प्रक्रियामा टुक्र्याएर पटक–पटक खरिद गरी प्रतिस्पर्धा सीमित गरिएको तथा आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रबाट खरिद गर्नुपर्ने सामग्री सिलबन्दी दरभाउपत्र र सोझै खरिदमार्फत खरिद गरिएको जनाएको छ ।
त्यस्तै, खरिद गरिएका चापाकललगायत सामग्रीको दोहोरो भरपाई तयार गरिएको र वितरण गरिएको भनिएका सामग्री बुझिलिएको विश्वसनीय प्रमाणसमेत पेस गर्न नसकेको आयोगको दाबी छ ।
आयोगले औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथिली, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, सबइन्जिनियर विपिनकुमार मण्डल, लेखापाल विजयकुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । त्यस्तै, आपूर्तिकर्तातर्फ औरही–१ का लिला आयरन स्टोर्सका सञ्चालक विनयकुमार यादव, जलेश्वर–३ का डि.एम. जनरल अर्डर सप्लायर्सका सञ्चालक दुधनाथ कुमर, श्रीराम इन्टरप्राइजेजका सञ्चालक अमरनाथ कुमर, औरही–१ का जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स)का सञ्चालक रामबाबु चौधरी तथा बागडोल–४, ललितपुरस्थित क्वालिटी सोलुसन कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
आयोगले उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा २२ बमोजिम कसुर गरेको पुष्टि भएको जनाएको छ। सोही आधारमा कानुनबमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।









