• २०८३ श्रावण २८ बिहीबार

रास्वपाले भन्यो- विपद्को घडीमा राज्य नागरिकको अभिभावक बनेर उभियोस्

रास्वपाले भन्यो- विपद्को घडीमा राज्य नागरिकको अभिभावक बनेर उभियोस्

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थबाङ गाउँपालिका–५ कोटलाबाङमा गएको पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह गरेको छ।

रास्वपाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार र बेपत्ताको खोजीलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पछिल्लो २४ घण्टामा रोल्पासहित देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयको प्रयासको प्रशंसा गरेको छ ।

विपद् आएपछि मात्रै राज्य संयन्त्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै रास्वपाले पूर्वतयारी र जोखिम न्यूनीकरणमा सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र उपचारको व्यवस्था गर्न तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गरेको छ ।

निरन्तर वर्षाका कारण सडक, बस्ती र नदी आसपासका क्षेत्र जोखिममा रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाले नागरिकलाई आग्रह गरेको छ । साथै, विपद्पूर्व तयारी र विपद्पछिको उद्धार तथा राहतमा राज्यका संयन्त्रलाई सहयोग गर्न पार्टीका सबै तहका संयन्त्रलाई चौबीसै घण्टा तयार रहन महामन्त्री विपिनकुमार आचार्यले आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै