काठमाडौँ । चौधौँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाल, पिस फिटनेस क्लबका विष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जन सेमिफाइनलमा पुगेका छन् ।
समूह ‘ए’ मा क्षितिजले नेपाल प्रहरीका जीवन आचार्यलाई २१–१३, २३–२१ ले हराउँदै लगातार दोस्रो जित निकालेर अन्तिम चारमा स्थान बनाए । उनले पहिलो खेलमा शीर्ष वरीयताका प्रिन्स दाहाललाई पराजित गरेका थिए ।
समूह ‘बी’ मा विष्णुले नेपाल प्रहरीका दीपक बोहरालाई २१–१७, २१–१७ ले तथा प्रफुलले एपिएफका देवराज रानालाई २१–१९, ११–२१, २१–१९ ले पराजित गर्दै दुई जितसहित सेमिफाइनलमा स्थान सुरक्षित गरे । समूह विजेता र उपविजेताको टुंगो भने अन्तिम खेलपछि लाग्नेछ ।
महिला एकलतर्फ समूह ‘बी’ बाट एपिएफकी रिहाना शेरचन र नेपाल प्रहरीकी निता लम्सालले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन्। समूह ‘ए’ मा नेपाल आर्मीकी रसिला महर्जन र नेपाल प्रहरीकी शेस्ना सृपाली एक–एक जितसहित अग्रस्थानमा छन्।
प्रतियोगिताअन्तर्गत १५ वर्षमुनिको पुरुष एकल र १९ वर्षमुनिको महिला तथा पुरुष एकलतर्फ पनि खेलाडीहरूले अन्तिम १६ मा स्थान बनाएका छन्। प्रतियोगिता यल स्पोर्ट्स एकेडेमी, ग्वार्कोको कभर्डहलमा भइरहेको छ ।









