• २०८३ श्रावण २७ बुधबार

युरोपेली सुपर कपमा आज पिएसजी र एस्टन भिल्ला भिड्दै

युरोपेली सुपर कपमा आज पिएसजी र एस्टन भिल्ला भिड्दै

काठमाडौँ । युरोपेली सुपर कपको उपाधिका लागि आज फ्रान्सेली क्लब पिएसजी र इङ्लिस क्लब एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ ।

अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ ।

युरोपेली सुपर कपमा च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच प्रतिस्पर्धा हुने गर्छ । पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । एस्टन भिल्लाले युरोपा लिगको फाइनलमा जर्मनीको फ्राइबर्गलाई ३-० ले हराउँदै उपाधि हात पारेको थियो ।

पिएसजीले सुपर कपको उपाधि जित्दै लगातार सफलता दोहोर्‍याउने लक्ष्य राखेको छ । उसका प्रमुख खेलाडी उस्मान डेम्बेले, ब्राड्ली बार्कोला, भितिन्हा र जोआओ नेभेस टोलीको प्रशिक्षणमा फर्किएका छन् ।

तर एस्टन भिल्लाले भने केही महत्वपूर्ण खेलाडीबिना खेल्नुपर्ने भएको छ । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज तथा इङ्ल्यान्डका एज्री कोन्सा र ओली वाट्किन्स विश्वकपपछिको विश्रामका कारण खेलमा सहभागी हुने छैनन् । स्विट्जरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका नयाँ खेलाडी योहान मान्जाम्बी चोटका कारण उपलब्ध हुने छैनन् । मोर्गन रोजर्स इङ्ल्यान्डबाट बाहिरिएपछि चेल्सीमा आबद्ध भएका छन् भने बेल्जियमका मिडफिल्डर अमादु ओनानालाई घुँडाको गम्भीर चोट लागेको छ ।

यसका कारण लुइस एन्रिकेको नेतृत्वमा रहेको पिएसजीलाई उनाइ एमरीको एस्टन भिल्लाविरुद्धको खेलमा तुलनात्मक रूपमा बलियो दाबेदार मानिएको छ ।

युरोपेली सुपर कपको इतिहासमा स्पेनिस क्लब रियाल मड्रिडले सबैभन्दा बढी ६ पटक उपाधि जितेको छ । बार्सिलोना र इटालीको एसी मिलानले समान ५-५ पटक उपाधि जितेका छन् भने लिभरपुलले ४ पटक उपाधि हात पारेको छ । पिएसजी र एस्टन भिल्लाले भने यसअघि समान एक–एक पटक सुपर कप जितेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै