• २०८३ श्रावण २६ मंगलबार

बेजोससहितको समूहले लिभरपुलमा ३० प्रतिशत हिस्सा किन्न वार्ता अघि बढायो

बेजोससहितको समूहले लिभरपुलमा ३० प्रतिशत हिस्सा किन्न वार्ता अघि बढायो

काठमाडौं । विश्वका धनाढ्य अमेरिकी व्यवसायी तथा अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा समूहले इंग्लिस फुटबल क्लब लिभरपुलमा करिब ३० प्रतिशत हिस्सा किन्नका लागि भइरहेको वार्तालाई अघि बढाएको छ ।

समूहको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक एडुआर्डो सेभेरिन पनि समूहमा सहभागी छन् ।

लिभरपुलका वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुपले गत महिना उक्त समूहले क्लबमा रणनीतिक अल्पमत हिस्सेदारी किन्न चासो व्यक्त गरेको पुष्टि गरेको थियो । अहिले समूह र क्लबबीचको वार्ता थप अघि बढेको बताइएको छ ।

अमित भाटिया भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तलका ज्वाइँ हुन् । उनले क्विन्स पार्क रेन्जर्स क्लबमा १८ वर्षसम्म सञ्चालक तथा सहमालिकका रूपमा काम गरेका थिए । गत महिना उनले उक्त क्लबमा रहेको आफ्नो हिस्सा छाडेका थिए । बेजोस विश्वका चौथो धनी व्यक्ति हुन् । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार ६२ वर्षीय बेजोसको अनुमानित सम्पत्ति करिब २५६ अर्ब अमेरिकी डलर रहेको छ ।

फेनवे स्पोर्ट्स ग्रुपले सन् २०१० मा करिब ४० करोड डलरमा लिभरपुल किनेको थियो । त्यसपछि समूहले क्लबको केही अल्पमत हिस्सा विश्वव्यापी खेल लगानी कम्पनी डाइनास्टी इक्विटीलाई बिक्री गरिसकेको छ ।

बेजोसले सन् २०२१ मा अमेजनको प्रमुख कार्यकारीको जिम्मेवारीबाट हटेर कार्यकारी अध्यक्षको भूमिका सम्हालेका थिए । यद्यपि अमेजनमा उनको अझै करिब ८ प्रतिशत स्वामित्व रहेको छ । बेजोसले अमेरिकी पत्रिका द वासिङ्टन पोस्ट र अन्तरिक्ष प्रविधि कम्पनी ब्लु ओरिजिनको समेत स्वामित्व राख्छन् । सन् २०२१ मा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

यसअघि सन् २०२३ मा अमेरिकी राष्ट्रिय फुटबल लिगको टोली वासिङ्टन कमान्डर्स बिक्रीमा राखिएपछि बेजोस उक्त टोली किन्न इच्छुक रहेको चर्चा चलेको थियो । उनले सुपर बाउल विजेता सियाटल सीहक्स किन्न सक्ने सम्भावनाबारे पनि अध्ययन गरेका थिए ।

तर बेजोसले दुवै टोलीका लागि अन्ततः औपचारिक प्रस्ताव पेश गरेनन् । लिभरपुलमा लगानीको प्रयास सफल भएमा भने उनी पहिलोपटक ठूलो खेलकुद क्लबको स्वामित्वमा प्रत्यक्ष रूपमा प्रवेश गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै