• २०८३ श्रावण २५ सोमबार

विश्वमा आर्थिक असमानता गहिरिँदै: ४६ प्रतिशत जनसंख्याको बराबर मस्ककै सम्पत्ति

विश्वमा आर्थिक असमानता गहिरिँदै: ४६ प्रतिशत जनसंख्याको बराबर मस्ककै सम्पत्ति

काठमाडौं । विश्वमा आर्थिक असमानताको खाडल पनि झन् गहिरिँदै गएको एक अध्ययनले देखाएको छ।

अक्सफामले सार्बजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१५ देखि २०२५ सम्म विश्वका सबैभन्दा धनी १ प्रतिशत मानिसको कुल सम्पत्ति ३४ खर्ब अमेरिकी डलरभन्दा बढीले बढेको छ । तर सोही अवधिमा अत्यन्त गरिबीमा रहेका मानिसको संख्या अपेक्षित गतिमा घट्न सकेको छैन ।

यही बढ्दो असमानताबीच अर्थशास्त्री तथा विभिन्न क्षेत्रका विज्ञहरूले ‘आर्थिक वृद्धिभन्दा बाहिर गरिबी उन्मूलनको मार्गचित्र’ तयार गर्दै अहिले अपनाइएको विकासको ढाँचामाथि प्रश्न उठाएका छन् । उनीहरूले आर्थिक वृद्धि मात्रै गरिबी हटाउने पर्याप्त आधार हुन नसक्ने बताएका छन् ।

फोर्ब्सका अनुसार सन् २०२० को जनवरीमा विश्वका धनी व्यक्त एलन मस्कको सम्पत्ति करिब २८ अर्ब अमेरिकी डलर थियो र उनी विश्वका ३५औँ धनी व्यक्ति थिए । त्यसपछि उनको सम्पत्तिमा तीव्र वृद्धि हुँदै अहिले १.११ खर्ब अमेरिकी डलर पुगेको छ ।

अक्सफामका अनुसार मस्कको व्यक्तिगत सम्पत्ति मात्रै विश्वको सबैभन्दा गरिब ४६ प्रतिशत जनसंख्या अर्थात् करिब ३ अर्ब ८० करोड मानिसको संयुक्त सम्पत्तिभन्दा बढी छ । सन् २०२५ मा विश्वभर अर्बपतिको संख्या पनि ३ हजारभन्दा माथि पुगेको थियो ।

अर्कोतर्फ विश्वका धेरै देशमा गरिबी र आधारभूत सार्वजनिक सेवाको संकट अझै कायम छ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनका अनुसार विश्वभर करिब ३ अर्ब ४० करोड मानिस त्यस्ता देशमा बस्छन्, जहाँ सरकारले स्वास्थ्य र शिक्षामा गर्ने खर्चभन्दा ऋणको ब्याज तिर्न बढी रकम खर्च गर्नुपर्छ ।

सन् १९९० पछि विश्वमा अत्यन्त गरिबीमा रहेका मानिसको संख्या घटे पनि त्यो कमी अपेक्षित गतिमा हुन सकेको छैन । यसले आर्थिक वृद्धि हुँदै जाँदा त्यसको लाभ स्वतः समाजका सबै वर्गसम्म पुग्छ भन्ने मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ ।

यस अवस्थाले आर्थिक वृद्धिको दर मात्र हेरेर मुलुकको विकास मापन गर्नु पर्याप्त नहुने देखाएको छ । सम्पत्तिको वितरण, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा समान पहुँच सुनिश्चित नगरेसम्म आर्थिक वृद्धिले समाजमा रहेको असमानता घटाउनुको सट्टा अझ बढाउन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै