काठमाडौँ । हलिवुडको सुपरहिरो चलचित्र ‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे’ ले विश्वभर बक्स अफिसमा १ अर्ब २५ करोड डलरभन्दा बढी कमाइ गरेको छ ।
बक्स अफिस मोजोका अनुसार चलचित्रले हालसम्म विश्वभर १ अर्ब २५ करोड ९३ लाख ८८ हजार ५२८ डलर कमाएको छ । यसमध्ये अमेरिकी बजारबाट ५५ करोड ३० लाख ८८ हजार ५२८ डलर र अमेरिकी बजारबाहिरबाट ७० करोड ६३ लाख डलर कमाइ भएको छ ।
चलचित्रको कमाइमा अमेरिकी बजारको हिस्सा करिब ४४ प्रतिशत र अमेरिकी बजारबाहिरको हिस्सा करिब ५६ प्रतिशत रहेको बक्स अफिस मोजोको तथ्यांकमा उल्लेख छ ।
चलचित्रले प्रदर्शनको सुरुवातदेखि नै बक्स अफिसमा बलियो प्रदर्शन गर्दै आएको छ । बक्स अफिस मोजोको तथ्यांकअनुसार यसको पहिलो दिनको कमाइ मात्रै करिब १६ करोड ९८ लाख डलर पुगेको थियो ।
चलचित्रमा टम हल्यान्डले पिटर पार्कर अर्थात् स्पाइडर–म्यानको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा जेन्डाया, जेकब बाटालोन, जोन बर्नथल र मार्क रफालोलगायत कलाकारको अभिनय छ। चलचित्रको निर्देशन डेस्टिन ड्यानियल क्रेटनले गरेका हुन् ।
‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे’ सन् २०२१ मा सार्वजनिक भएको ‘स्पाइडर–म्यान : नो वे होम’ पछिको नयाँ कथा हो । नयाँ चलचित्रमा पिटर पार्कर आफ्नो विगतका घटनापछि एक्लै जीवन बिताउँदै अपराधविरुद्ध लडिरहेको अवस्थामा देखाइएको छ ।
बक्स अफिस मोजोको पछिल्लो तथ्यांकअनुसार ‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे’ सन् २०२६ मा विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको शीर्ष स्थानमा रहेको छ ।









