ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले बहुध्रुवीय विश्व व्यवस्थामा चीन, भारत र नेपालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
ललितपुरमा आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : बदलिँदो क्षेत्रीय व्यवस्थामा चीन-भारत-नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालले दुवै छिमेकी मुलुक चीन र भारतसँग सार्वभौम समानता, पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्ध सुदृढ गर्दै आएको बताए ।
उनले एसियाको आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि ठूलो अवसर सिर्जना गरेको उल्लेख गर्दै व्यापार, लगानी, प्रविधि, पर्यटन र सम्पर्क विस्तारमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री खनालले दक्षिण एसियामा ठूलो आर्थिक सम्भावना भए पनि क्षेत्रीय व्यापार र सहकार्य अझै न्यून रहेको भन्दै यातायात सञ्जाल, व्यापार सहजीकरण, लगानी प्रवाह र आपसी साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार नेपाल सरकारले आर्थिक रूपान्तरण र समृद्धिलाई प्राथमिकतामा राखेको छ । पूर्वाधार विकास, गुणस्तरीय लगानी आकर्षण, निर्यात विस्तार, पर्यटन प्रवर्द्धन, स्वच्छ ऊर्जा विकास, प्रविधि र नवप्रवर्तनलाई नेपालको प्रमुख प्राथमिकता बनाइएको उनले बताए ।
परराष्ट्रमन्त्री खनालले नेपाल दुई ठूला अर्थतन्त्र चीन र भारतबीच रहेको अवसरलाई उपयोग गर्दै भूपरिवेष्टित मुलुकबाट गतिशील आर्थिक पुलका रूपमा विकास हुन चाहेको बताउदै नेपालमा रहेको जलविद्युत् सम्भावना, जैविक विविधता, प्राकृतिक स्रोत र पर्यटन क्षेत्रले क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे ।
उनले नेपाल भगवान् गौतम बुद्धको जन्मभूमि तथा हिमाली सभ्यताको केन्द्र भएकाले सांस्कृतिक सम्बन्ध र जनस्तरीय सम्पर्क विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । मन्त्री खनालले साझा भविष्यका लागि व्यावहारिक साझेदारी आवश्यक रहेको उल्लेख गर्दै ऊर्जा, प्रविधि, कृत्रिम बौद्धिकता, अनुसन्धान, जलवायु परिवर्तन र हिमाली संरक्षणका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।
उनले सरकारबीचको सम्बन्धसँगै विद्यार्थी, व्यवसायी, अनुसन्धानकर्ता, कलाकार र पर्यटकबीचको आदानप्रदानले दीर्घकालीन विश्वास निर्माण गर्ने बताए । सम्मेलनमा बोल्दै उनले नेपालले सबै मित्र राष्ट्रसँग द्विपक्षीय तथा क्षेत्रीय सहकार्य विस्तार गर्दै एसियाको साझा समृद्धि, दिगो विकास र जनताको हितका लागि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।









