काठमाडौँ । ब्राजिलका विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग थप छ वर्षको नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौताअनुसार उनी अब सन् २०३२ जुन ३० सम्म रियल म्याड्रिडमै रहने छन् ।
२६ वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि सकिन १२ महिना मात्र बाँकी रहेको थियो । पछिल्ला केही सातायता उनीप्रति इङ्ग्लिस क्लब आर्सनलले पनि चासो देखाएको थियो । तर रियल म्याड्रिडले नयाँ सम्झौताको औपचारिक घोषणा गरेको छ ।
सम्झौतापछि भिनिसियसले सामाजिक सञ्जालमा लेखेका छन्- 'बेर्नाबेउमा बिताएका आठ वर्ष निकै छोटा लागे । अब थप छ वर्ष, त्यसपछि सधैंका लागि ।'
रियल म्याड्रिडले पनि भिनिसियसलाई क्लबको इतिहासकै सबैभन्दा सफल अवधिका महत्वपूर्ण खेलाडीमध्ये एक भएको जनाएको छ । भिनिसियस सन् २०१८ मा ब्राजिलको फ्लामेङ्गोबाट रियल म्याड्रिड आएका थिए । पछिल्लो १८ महिनादेखि नयाँ सम्झौताबारे दुवै पक्षबीच वार्ता चलिरहेको थियो । हालसम्म उनले रियलका लागि सबै प्रतियोगितामा ३७५ खेलमा १२८ गोल गरेका छन् । ब्राजिलका लागि भने ५४ खेलमा १३ गोल गरेका छन् ।
उनको योगदानमा रियल म्याड्रिडले दुई पटक युरोपेली च्याम्पियन्स लिग, तीन पटक स्पेनिस ला लिगा र एक पटक कोपा डेल रे उपाधि जितेको छ ।
यता, भिनिसियसले सम्झौता नवीकरण नगरेको भए आर्सनलले उनलाई भित्र्याउने प्रयास तीव्र बनाउने तयारी गरेको बताइएको थियो । तर नयाँ सम्झौतासँगै उनको स्थानान्तरणको सम्भावना तत्कालका लागि समाप्त भएको छ ।
यसैबीच, रियल म्याड्रिडले आइभरी कोस्टका विङ्गर यान डियोमान्डेलाई आरबी लाइपजिगबाट करिब १४ करोड युरोमा अनुबन्ध गरेको पनि घोषणा गरेको छ । नयाँ मुख्य प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा डियोमान्डे रियलको यस सिजनमा रियल भित्रिने छैटौं नयाँ खेलाडी बनेका छन् ।









