काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार पशु खोप कार्यक्रम सञ्चालन गरेका भ्याक्सिनेटरहरूलाई कानुनअनुसार पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिएबापत डा. दास र चालक यादवले २० प्रतिशत कमिसनका रूपमा घुस मागेको भन्ने उजुरीका आधारमा इटहरीस्थित आयोगको टोलीले उनीहरूलाई १ लाख ३२ हजार ३५० रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट डा. दासले कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा चालक यादवसँग मिलेमतो गरी भ्याक्सिनेटरहरूलाई पारिश्रमिक उपलब्ध गराइदिने नाममा कम्तीमा २० प्रतिशत रकम घुस दिन बाध्य पारी १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै आयोगले बिगो बराबरको जरिवाना र कैद सजायको मागसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।









