बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीले ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका डोटीको शिखर नगरपालिका–४ तिनाडीका करिब २० वर्षीय गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनीका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए। साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा थारुको शव फेला परेको थियो।
अनुसन्धानका क्रममा दुर्घटनापछि घाइते अवस्थामै रहेका आसाराम थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी उनको घाँटीमा लगाएको माला तथा डोरीले कसी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि शव सिँचाइ नालामा फालेर उनी फरार भएका थिए।
प्रहरीले घटनामा संलग्न जैसीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।









