• २०८३ श्रावण १७ आइतबार

जेलेन्स्कीले अमेरिका र युरोपसँग मागे थप हवाई प्रतिरक्षा प्रणाली

जेलेन्स्कीले अमेरिका र युरोपसँग मागे थप हवाई प्रतिरक्षा प्रणाली

काठमाडौँ । रुसले पछिल्लो समय गरेको क्षेप्यास्त्र र मानवरहित विमान आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र युरोपेली मुलुकसँग तत्काल ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका अवरोधक क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले ती क्षेप्यास्त्र मानिसको ज्यान बचाउनका लागि आवश्यक भएकाले गोदाममा थन्क्याएर राख्नुको सट्टा युक्रेन पठाउनुपर्ने बताएका छन् ।

शनिबार राति रुसले राजधानी किभसहित विभिन्न सहरमा व्यापक आक्रमण गरेको थियो। युक्रेनी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रुसले रातभर ३५ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन्। तीमध्ये २७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रहेका थिए। साथै १८५ देखि १९० वटासम्म मानवरहित विमान पनि प्रहार गरिएको उनले बताएका छन् ।

उनका अनुसार ‘प्याट्रियट’ प्रणालीका अवरोधक क्षेप्यास्त्रको मौज्दात लगभग सकिएकाले युक्रेनले एउटा मात्रै ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न सकेको हो ।

जेलेन्स्कीले अमेरिका र युरोपलाई युक्रेनलाई आवश्यक सैन्य सहयोगबारे जानकारी रहेकाले अब तत्काल राजनीतिक निर्णय गरेर थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउनुपर्ने बताएका छन् । उनका अनुसार प्रत्येक दिनको ढिलाइले रुसलाई थप युक्रेनी नागरिकको ज्यान लिन अवसर मिलिरहेको छ ।

उनले रुसले अहिले जेट इन्जिनयुक्त ‘शाहेद’ मानवरहित विमानको प्रयोग बढाउँदै लगेको दाबी गर्दै युद्ध लम्बिँदै जाँदा नयाँ आक्रमण रणनीति विकास गरिरहेको बताएका छन् ।

युक्रेनी राष्ट्रपतिले अमेरिका र युरोपेली सहयोगी राष्ट्रहरूलाई रुसको क्षेप्यास्त्र, प्रक्षेपण प्रणाली र हतियार उद्योगसँग सम्बन्धित व्यक्ति तथा कम्पनीमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् ।

यसका साथै रुसको तेल प्रशोधन तथा इन्धन क्षेत्रलाई प्राप्त सहयोग रोक्न सके त्यसको युद्ध सञ्चालन क्षमता कमजोर पार्न सहयोग पुग्ने उनले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै