काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खान अभिनीत आगामी फिल्म ‘किङ’ को सङ्गीत अधिकार करिब ५० करोड भारतीय रुपैयाँमा बिक्री हुने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२३ मा ‘पठान’ र ‘जवान’जस्ता दुई सफल चलचित्र दिएपछि शाहरुख यस वर्षको क्रिसमसमा निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’ मार्फत दर्शकमाझ आउँदै छन् ।
फिल्मको चर्चा उच्च रहेको बेला यसको सङ्गीत अधिकारका लागि विभिन्न कम्पनीबीच प्रतिस्पर्धा भइरहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोनी, सारेगामा र टी-सिरिजले अधिकार खरिदका लागि ठूलो रकम प्रस्ताव गरेका छन् । तीमध्ये एक कम्पनीले करिब ५० करोड भारतीय रुपैयाँको प्रस्तावसहित अग्रस्थानमा रहेको जनाइएको छ ।
यदि यो सम्झौता सम्पन्न भएमा हिन्दी चलचित्र उद्योगमा मूल सङ्गीत एल्बमका लागि भएका सबैभन्दा ठूला सम्झौतामध्ये यो तेस्रो हुनेछ । यसअघि ‘रामायण’ र ‘धुरन्धर-२’का सङ्गीत अधिकार अझ ठूलो रकममा बिक्री भएका थिए । ‘रामायण’का दुवै भागको सङ्गीत अधिकार करिब ७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको बताइएको छ।
निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’ आगामी क्रिसमस २०२६ को अवसरमा प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेको छ भने करिब १५ दिनको काम मात्र बाँकी रहेको जनाइएको छ । अहिले फिल्मको सम्पादन तथा अन्य प्राविधिक काम तीव्र रूपमा भइरहेको बताइएको छ ।









