रुकुम । रुकुम पश्चिम, आठविसकोट नगरपालिका –०४ छोटेबगरमा करिब तीन किलोग्राम अफिम सहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो ।
प्रहरी टोलीले आठविसकोट नगरपालिका –०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी चेकजाँच गर्न खोजेको थियो ।
चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरज बहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।









